नेपाल भित्र्याउन लागिएको हजारौं बोतल लागूऔषधसहित बाराको सिमावर्ती एरियामा दुई जना पक्राउ

रामबाबु मेहता । नेपाल–भारत सीमाक्षेत्रमा लागूऔषध तस्करीविरुद्ध भारतीय सुरक्षा निकायले कडाइ बढाएको संकेत देखिएको छ। आइतबार गरिएको संयुक्त अपरेसनका क्रममा ठूलो परिमाणमा कोडिनयुक्त कफ सिरप बरामद गर्दै दुई जनालाई पक्राउ गरिएको हो।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले बारा नजिकैको सीमाक्षेत्रमा निगरानी तीव्र बनाउने क्रममा शंकास्पद सवारीसाधनलाई रोकेर जाँच गर्दा लागूऔषध फेला पारेको हो। बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड गाडीबाट १०० एमएलका ८४० बोतल ओनेरेक्स कफ सिरप बरामद गरिएको एसएसबीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त लागूऔषध भारतबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउने तयारीमा रहेको देखिएको छ। सीमास्तम्भ नम्बर ३७६ नजिकै, बेला गाउँ आसपासबाट बरामद गरिएको उक्त खेप लामो समयदेखि सक्रिय तस्करी सञ्जालसँग जोडिएको आशंका गरिएको छ।
घटनामा संलग्न रहेको आरोपमा भारत पश्चिम चम्पारणका ३५ वर्षीय जन्मेजय कुमार मिश्र र बारा कबहिगोठ–३ जमुनियाका ५० वर्षीय रमेश प्रसादलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि छौडादानो थानामा बुझाइएको एसएसबीले जनाएको छ।
सीमाक्षेत्र हुँदै लागूऔषध ओसारपसार हुने क्रम नरोकिने अवस्थामा यस्ता अपरेसनलाई अझ सशक्त बनाइने सुरक्षा अधिकारीहरूको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close