मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

जनकपुरधाम, २९ असोज । मधेश प्रदेश सरकार गठन प्रक्रियामा नाटकीय मोड लिदै अन्ततः प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा लोसपाका उपाध्यक्ष जितन्द्र सोनल नियुक्त भएका छन् ।
५७ जना प्रदेश सदस्य सहित ६ राजनीतिक दलको समर्थन रहेका सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आधिकारीक रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए ।
आजै जनमतका १३ प्रदेश सांसदसमेतको आफ्नो समर्थन रहेको भन्दै काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेपछि नाटकीय रुप लिन पुगेको थियो ।
जनमतले त्यसलाई खण्डन गरेपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई नै समर्थन दिएको स्रोतले बतायो । मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश प्रदेश प्रमुख कार्यालयमा दुवै पक्ष पुगेपछि तनाव उत्पन्न भएको थियो ।
जनमतले पहिला काँग्रेसलाई समर्थन गरे पनि पछि सोनललाई समर्थन गरेपछि काङ्ग्रेस र एमाले जनमत फोडेरै भएपनि आफूहरूको नेतृत्वमा सरकार बनाउने प्रयासमा दुई ठूला दल थिए ।
फलस्वरूप जनमतबाट आज निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ सह–नेतृत्वको जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत समेत गरेका हुन ।





