राजु कुशवाहा,
प्रसौनीमा नेकपा बारा क्षेत्र–४ को अगुवा बैठक, युवामुखी राजनीति र परिवर्तनको एजेन्डा अगाडि सारिँदै
बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बारा क्षेत्र–४ ले प्रतिनिधि सभा निर्वाचनको तयारीस्वरूप अगुवा बैठक सम्पन्न गरेको छ। प्रसौनी गाउँपालिका–६ भलुहीमा आयोजित उक्त बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र जनपरिचालनमा केन्द्रित रणनीति तय गरेको छ।
बैठकमा नेकपा बारा क्षेत्र–४ का प्रतिनिधि सभा उम्मेदवार अजय कुमार कुशवाहाले आफू अन्तर्राष्ट्रिय भलिबल खेलाडीका साथै नयाँ पुस्ता (जेन–जेड) को प्रतिनिधित्व गर्ने युवा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै युवाको सक्रिय सहभागिता, परिवर्तनमुखी सोच र जनताको वास्तविक मुद्दालाई केन्द्रमा राखेर राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रको अवस्था, विकासका चुनौती र समाधानका उपायबारे धारणा राखेका थिए। परवानीपुर गाउँपालिकाका लालबहादुर पटेल, प्रसौनी गाउँपालिकाका विजय यादव र लक्ष्मी महतो, विश्रामपुर गाउँपालिकाका लवकुश बैठा तथा जितपुर–सिमरा उपमहानगरपालिकाका प्रेम बरालले विकास, सेवा प्रवाह र जनअपेक्षाका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
नेकपा केन्द्रीय सदस्य क्षेत्र बहादुर श्रेष्ठको नेतृत्वमा बारा क्षेत्र–४ मा ५०० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिइएको छ। साथै आर्थिक समिति, जनपरिचालन समिति र प्रचार–प्रसार समिति लगायत विभिन्न संरचनागत समितिहरू गठन गरिएको विवरण दिनेश राईले सार्वजनिक गरेका छन्।
कार्यक्रममा संविधानसभा सदस्य दिलमाया धामी, दिनेश राई, क्षेत्र बहादुर श्रेष्ठ, शिला खनाल, मालती कुशवाहा, सर्मिला राई, भरत खड्का, रामचन्द्र प्यासी, हरि प्रसाद चौलागाईं, कमला अधिकारी, मुकेश साहलगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close