भूमि विधेयकविरुद्ध जसपा नेपालले गरे बाराको कलैयामा विरोध प्रदर्शन

भदौ १८, रामबाबु मेहता। भूमि विधेयकविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार बाराको सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेको छ।
जिल्ला कार्य समिति बाराको संयोजनमा आयोजित प्रदर्शनमा पार्टीका नेता–कार्यकर्ताले “भूमि विधेयक खारेज गर”, “किसान विरोधी नीति बन्द गर” जस्ता नाराबाजी गर्दै सरकारप्रति आक्रोश पोखेका थिए। 
विरोधसभालाई सम्बोधन गर्दै जसपा नेपाल बारा जिल्ला अध्यक्ष रमेश यादवले विधेयक किसान र साना भू–स्वामीको पुर्ख्यौली सम्पत्ति खोस्ने खालको भएको दाबी गरे। उनले भने, “भूमि व्यवस्थापनका नाममा सरकारले किसानलाई विस्थापित गर्ने षड्यन्त्र गरिरहेको छ, जसपा यसलाई कहिल्यै स्वीकार गर्ने छैन।”
त्यस्तै, पार्टीका केन्द्रीय सदस्य रामबाबु प्रसाद यादवले विधेयक संघीयताको मर्म विपरीत रहेको टिप्पणी गर्दै संघीय संरचनामाथि नै आक्रमण भएको बताए। “भूमि सम्बन्धी निर्णय प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र हो, तर केन्द्रले नियन्त्रण गर्ने प्रयास संघीय व्यवस्था कमजोर पार्ने खेल हो,” उनले आरोप लगाए।
सरकारले हाल संसद्मा दर्ता गरेको विधेयकमा भूमिहीनलाई बसोबासको व्यवस्था गर्ने र अव्यवस्थित बसोबासीलाई कानुनी वैधता दिने दाबी गरिएको छ। तर जसपाले यसले दीर्घकालीन रूपमा किसान, दलित, मधेसी र साना भू–स्वामीलाई भूमिहीन बनाउन सक्ने चेतावनी दिएको छ।
विशेष गरी जग्गा स्वामित्वमा सीमा तोक्ने व्यवस्था, भूमिहीनलाई वितरण प्रक्रियामा हुने सम्भावित भ्रष्टाचार, र प्रदेश–स्थानीय तहको अधिकार कटौतीजस्ता प्रावधानप्रति जसपा गम्भीर आपत्ति जनाएको छ।
विरोधमा सहभागी कार्यकर्ताले विधेयक खारेज नभएसम्म सडक संघर्षलाई अझ उग्र बनाउन चेतावनी दिएका छन्।




