मोहम्मद जयन्तीमा भोलि कलैयाका विद्यालयमा सार्वजनिक बिदा
कलैया । कलैया उपमहानगरपालिकाले मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीको अवसरमा उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार २०८३ साल भदौ १० बुधबार गते मोहम्मद जयन्ती परेको अवसरमा विद्यालयहरूमा बिदा दिइने भएको हो। नगर प्रमुखस्तरीय निर्णयअनुसार बिदा सम्बन्धी जानकारी गराउन सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गरिएको शाखाले जनाएको छ। 
शिक्षा शाखा प्रमुख राजीव कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा मोहम्मद जयन्तीका अवसरमा उपमहानगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयमा एक दिन सार्वजनिक बिदा रहने उल्लेख छ।
कलैया उपमहानगरपालिकाले स्थानीय धार्मिक तथा सांस्कृतिक पर्वलाई ध्यानमा राख्दै विद्यालय तहमा बिदा व्यवस्थापन गरेको हो। नेपाल सरकारको २०८३ सालको सरकारी तथा सार्वजनिक बिदासम्बन्धी विवरण पनि गृह मन्त्रालयले सार्वजनिक गरिसकेको छ।
उक्त बिदाका कारण कलैया उपमहानगरपालिका क्षेत्रका विद्यालयमा नियमित पठनपाठन प्रभावित हुने भए पनि धार्मिक पर्व मनाउने समुदायलाई सहज हुने अपेक्षा गरिएको छ।



