११ महिनामै ७० जनाको ज्यान गयो : बारामा सडक दुर्घटना रोक्न प्रशासनको विशेष अभियान

कलैया । बारा जिल्लामा पछिल्लो ११ महिनाको अवधिमा भएका सवारी दुर्घटनाले गम्भीर चिन्ता थपेको छ। जिल्लामा मात्रै १ हजार १ सय १४ वटा दुर्घटना हुँदा ७० जनाले ज्यान गुमाएका छन् भने १८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। बढ्दो दुर्घटनाको यही डरलाग्दो अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीले सडक सुरक्षा अभियान सुरु गरेका छन्।
“सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनीकरण” भन्ने नारासहित बुधबारदेखि ‘ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३’ सञ्चालनमा ल्याइएको हो। अभियानको सुरुवात कलैयामा प्रभातफेरी कार्यक्रममार्फत गरिएको थियो।
कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। जिल्लामा दुर्घटनाको दर लगातार बढ्दै गएपछि प्रशासनले सडक सुरक्षालाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख दिपक के.सी.का अनुसार तीव्र गति, चालकको लापरवाही, ट्राफिक नियम उल्लंघन तथा असावधानी दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्। उनले दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि आवश्यक रहेको बताउँदै सप्ताहव्यापी अभियान अन्तर्गत विद्यालय, बजार, टोल तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार चालक, सहचालक तथा यातायात व्यवसायीलाई सुरक्षित सवारी सञ्चालन, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायतका विषयमा प्रशिक्षण तथा परामर्श प्रदान गरिनेछ।
जिल्ला प्रशासन कार्यालयले दुर्घटना नियन्त्रणका लागि प्रहरी, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय बढाएको जनाएको छ। अब जनचेतनामूलक कार्यक्रमसँगै ट्राफिक नियमको कार्यान्वयनमा पनि कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ।
सरोकारवालाहरूले दुर्घटनाका बढ्दा घटनाले सडक सुरक्षाको चुनौती थपिएको उल्लेख गर्दै अभियानलाई केवल सप्ताहमा सीमित नराखी दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close