निरञ्जन कुमार अग्रवाल विरुद्ध ५१ बढीको मनी लन्डरिङ मुद्दा दायर

वीरगन्ज। नेपालमा झुटा विवरण प्रस्तुत गर्दै नागरिकता लिने, अवैध सम्पत्ति आर्जन गर्ने र सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) जस्ता गम्भीर अपराधमा संलग्न एक विदेशी नागरिक विरुद्ध सरकारले ठूलो कारबाही अघि बढाएको छ। भारत राजस्थान स्थायी ठेगाना भई हाल वीरगन्ज–१० बसोबास गर्दै आएका निरञ्जन कुमार अग्रवाल विरुद्ध ५१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको अवैध सम्पत्ति प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मनी लन्डरिङ मुद्दा दायर गरेको छ।
विभागको विस्तृत अनुसन्धानमा अग्रवालले जन्मको आधारमा झुटा विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेको पुष्टि भएको छ। यति मात्र होइन, उनले आफ्नी श्रीमती रितु देवीलाई वैवाहिक अङ्गीकृत नागरिकता दिलाई उनका नाममा समेत कम्पनी दर्ता, बैङ्क खाता खोल्ने, जग्गा किन्नेजस्ता कार्य गरी गैर कानुनी ढङ्गबाट सम्पत्ति आर्जन गरेका थिए।
अग्रवालले विभिन्न साझेदारहरूमार्फत कम्पनी, शेयर, बैङ्क कारोबार तथा जग्गा खरिद गर्दै अवैध सम्पत्ति शुद्धीकरण गरेको देखिएपछि विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सजायको मागसहित सम्पत्ति जफत गर्न पर्सा जिल्ला अदालतमा साउन १४ गते बुधवार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अभियोग पत्र दर्ता गरेको हो।
यही अभियोग पत्रमा अपराध पीडित संरक्षण ऐन, २०७५ को आधारमा क्षतिपूर्ति निर्धारण गरी राहत कोषमा जम्मा गराउनुपर्ने माग पनि उल्लेख छ। साथै श्रीमती रितु देवी, युनेश वली र सविता देवीलाई देवानी दायित्व मात्र रहने गरी संलग्न गराइएको छ।
निरञ्जन अग्रवाल नेपाल प्रवेशको मूल सुरुआत वीरगन्जका प्रतिष्ठित किराना व्यवसायी अजय अग्रवाल (हाल स्वर्गीय) मार्फत भएको थियो। अजय अग्रवालको “आदर्श किराना”मा काम गर्न उनलाई भारत राजस्थानबाट बोलाइएको थियो। तर, छोटो समयमै व्यावसायिक र पारिवारिक विश्वासमा खलल पुर्याउँदै उनले अजय अग्रवालकै परिवारमा विग्रह सृजना गरी हालीमुहाली जमाए।
पारिवारिक विग्रहको कारण अजय अग्रवालको वीरगन्जबाट उठिबास भयो, र निरञ्जन कुमार अग्रवालले २०६३ सालमा झुटा विवरणमा नेपाली नागरिकता लिँदै लगत्तै जग्गा कारोबारमा हात हाल्न थाले।
छोटो अवधिमै उनले गुटका, सुर्ती, चुइँगमको कारोबारी नेटवर्क मार्फत अपार मुनाफा कमाए। उनीसँग जोडिएका व्यापारिक प्रतिष्ठानहरूमा राजस्व अनुसन्धान विभाग र प्रहरीले पटक पटक छापा हान्दा पनि राजनीतिक संरक्षण भरमा जोगिँदै आएका थिए। झुटो विवरण पेस गरी नागरिकता लिएको अभियोगमा पर्साका तत्कालीन प्रहरी उपरीक्षक कुमुद ढुङेल ले निरञ्जन अग्रवाल हिरासतमा राखेर पर्सा जिल्ला अदालतमा मुद्दा दायर गर्दा धरौटीमा रिहा भएका थिए। हाल उनको नागरिकताका सम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन रहेको छ। सभार :हाम्राकुरा डट्कम बाट





