फेरि फुट्यो उपेन्द्र यादवको पार्टी जसपा नेपाल

काठमाडौं,२७बैशाखःअशोक राइले ७ जना संघीय सांसदलाई लिएर अलग दल बनाएको चार दिनपनि बित्न नपाउँदै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ ।जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि बिहीबार जसपा नेपालबाट अलग भएको हो ।

माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ साल वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपासँग पार्टी एकता गरेको थियो ।काठमाडौंमा बिहीबार माखिमसहित राजनीतिक र केन्द्रीय समितिका सदस्यहरूले पत्रकार सम्मेलन गरेर जसपा नेपालबाट अलग हुदैं प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा बनाएको घोषणा गरेका छन् ।

उनीहरूले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाए ।‘पार्टीको विभाजन आत्मघाती कदम भयो, जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन’ माखिमले भने, ‘दुवै जसपाका नेताहरूलाई पार्टी जिम्मा छोड्दै हामीले आफ्नो लक्ष्य र उद्देश्यका लागि अगाडि बढ्ने प्रण ग¥यौं ।’

मोर्चाले पहिचानको मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा रहेका पहिचानवादी दल, संगठन, अभियन्ता सबैलाई एकतावद्ध भई अघि बढ्न आह्वान गरेको छ ।इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई पहिचानवादीको साझा उम्मेदवार बनाएकै मोडल अगामी निर्वाचनमा अपनाउने समेत माखिमले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close