सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, तीन जना घाइते

मुकेश मेहता, असोज २५ । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार साँझ सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR05AF 0140) ले सोही दिशाबाट गइरहेको साइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा सिम्रौनगढ नगरपालिका–६ निवासी करिब ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो। साइकलमा सवार खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा साँझ चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा साइकल चालक खातुनका श्रीमान् करिब ४० वर्षीय सबु मोहम्द घाइते भएका छन्। उनको टाउको र निधारमा चोट लागेको छ। कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि राति नारायणी न्युरो अस्पताल वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी करिब २५ वर्षीय अजय महतो र मोटरसाइकलमा सवार करिब २२ वर्षीय विवेक महतो पनि घाइते भएका छन्। दुवैको टाउको, नाक र कानमा चोट लागेको छ। उनीहरूको अवस्था गम्भीर रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नारायणी न्युरो अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी कचोर्वाबाट प्रहरी हवल्दार शैलेन्द्र प्रसाद यादवको कमान्डमा तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको छ।






