बारामा अपराधविरुद्ध प्रहरीको कडा एक्सन : एक महिनामा १६६ किलो गाँजा बरामद, १४४ अपराधका घटना दर्ता

रामबाबु मेहता,४ असोज ।
बारामा अपराध नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराको भदौ महिनाको प्रगति विवरणले जिल्लामा अपराधका घटना चुनौतीका रूपमा कायम रहे पनि लागूऔषध, अवैध मदिरा, प्राकृतिक स्रोतको दोहन, सवारी नियम उल्लंघन तथा विभिन्न आपराधिक गतिविधिविरुद्ध प्रहरीले आक्रामक कारबाही अघि बढाएको देखाएको छ।
भदौ महिनामा बारामा विभिन्न प्रकृतिका १४४ वटा आपराधिक घटना प्रहरीमा दर्ता भएका छन्। तीमध्ये सामाजिक अपराध ३२, आत्महत्यासम्बन्धी २८, सवारी ज्यान १३, महिला तथा बालबालिकासम्बन्धी ११, चोरी ५ र ज्यानसम्बन्धी २ घटना छन्। अन्य प्रकृतिका ५३ घटना दर्ता भएको प्रहरीको तथ्यांक छ।
तर यही तथ्यांकको अर्को पाटो प्रहरीको कारबाहीमा देखिन्छ। चालु मुद्दामा २४ जना प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोका पेन्डिङ १ हजार २ सय २६ मुद्दामध्ये भदौ महिनामा ५६ वटा फर्छ्योट गरिएको छ।
१सय६६ किलो गाँजा बरामद, लागूऔषध कारोबारमाथि निगरानी
बारामा लागूऔषध नियन्त्रण प्रहरीका लागि प्रमुख प्राथमिकतामा परेको छ। भदौमा लागूऔषधसम्बन्धी ६ वटा मुद्दा दर्ता गरी ३ जनालाई पक्राउ गरिएको छ।
कारबाहीका क्रममा १ सय ६६ किलो ९ सय ६० ग्राम गाँजा र १.९६ ग्राम ब्राउन सुगर बरामद भएको छ। ठूलो परिमाणमा गाँजा बरामद हुनुले सीमावर्ती जिल्लाका रूपमा बारामा लागूऔषध ओसारपसार नियन्त्रण प्रहरीका लागि कति महत्वपूर्ण बनेको छ भन्ने देखाउँछ।
प्रहरीले लागूऔषध कारोबारको सम्भावित मार्ग, ओसारपसारमा संलग्न व्यक्तिको गतिविधि तथा शंकास्पद स्थानमाथि निगरानी बढाएको जनाएको छ।
१२ हजार लिटर अवैध मदिरा नियन्त्रण
प्रहरीको कारबाही लागूऔषधमा मात्रै सीमित छैन। अवैध मदिराको उत्पादन तथा बिक्रीवितरण नियन्त्रणका क्रममा भदौमा ११ हजार ९९० लिटर अवैध मदिरा बरामद गरिएको छ।
त्यस्तै, जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका १८ वटा अवैध मदिरा भट्टी नष्ट गरिएको प्रहरीको विवरणमा उल्लेख छ। अवैध मदिरा उत्पादनले अपराध, घरेलु हिंसा तथा सार्वजनिक सुरक्षामा पार्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अभियानलाई निरन्तरता दिएको जनाएको छ।
प्राकृतिक स्रोत दोहनमा पनि प्रहरीको हस्तक्षेप
प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणमा समेत प्रहरीले कारबाही गरेको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका ७ वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ।
कारबाहीबाट ७ लाख रुपैयाँ जरिवाना संकलन भएको छ। यसैगरी अवैध वन पैदावार नियन्त्रणका क्रममा ४८.४८ क्युफिट सालको काठ बरामद गरिएको छ। त्यसबाट १ लाख ३३ हजार ४ सय रुपैयाँ राजस्व तथा जरिवाना संकलन भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
सडक सुरक्षामा चुनौती, नियम उल्लंघनमा जरिवाना
भदौमा बारामा ८४ वटा सवारी दुर्घटना भए। दुर्घटनामा १२ जनाको मृत्यु र १ सय २२ जना घाइते भए। ११५ जनाको उद्धार गरिएको प्रहरीको विवरण छ।
दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही देखिएको छ। प्रहरीका अनुसार चालकको कारण मात्रै ८१ वटा दुर्घटना भएका छन्।
सवारी नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरी प्रहरीले ९ लाख ६५ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरेको छ। यसले ट्राफिक नियम कार्यान्वयनमा प्रहरीको निगरानी निरन्तर रहेको देखाउँछ।
महिला–बालबालिकाका उजुरीमा प्रहरीको सक्रियता
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी क्षेत्रमा भदौ महिनामा १ सय ७४ वटा उजुरी परेको छ। तीमध्ये १५३ वटा उजुरी मिलापत्र गरिएको र २ वटा मुद्दा अदालत पठाइएको प्रहरीको विवरणमा उल्लेख छ।
घरेलु हिंसाका उजुरी उपमहानगर क्षेत्रमा ५१, नगरपालिकामा ४१ र गाउँपालिकामा ८२ वटा रहेका छन्। त्यस्तै, भदौमा हराएका २८ जनामध्ये १६ जना फेला परेको प्रहरीले जनाएको छ।
अपराध नियन्त्रणमा गस्ती र सूचना संकलन मुख्य आधार
जिल्ला प्रहरी कार्यालय बाराले अपराध नियन्त्रणका लागि दिवा तथा रात्री गस्तीलाई निरन्तरता दिएको छ। संवेदनशील क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती, सीसीटीभी निगरानी, पूर्वअपराधसम्बन्धी सूचना संकलन तथा समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ।
भदौ महिनाको तथ्यांकले बारामा अपराधका चुनौतीहरू अझै गम्भीर रहेको देखाए पनि त्यससँगै प्रहरीको कारबाहीको दायरा पनि फराकिलो हुँदै गएको संकेत गर्छ।
१४४ वटा अपराधका घटना दर्ता हुनु चुनौती हो भने १६६ किलोभन्दा बढी गाँजा, झण्डै १२ हजार लिटर अवैध मदिरा, अवैध काठ तथा प्राकृतिक स्रोत दोहनमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिनु प्रहरीको कारबाहीको परिणाम हो।
अबको चुनौती भनेको पक्राउ र बरामदमा मात्र सीमित नरही अपराधको मूल सञ्जालसम्म पुग्नु हो। विशेषगरी लागूऔषध तथा अवैध कारोबारमा संलग्न मुख्य व्यक्ति, आर्थिक स्रोत र आपूर्ति सञ्जालसम्म अनुसन्धान पुग्न सके कारबाहीको प्रभाव अझ स्पष्ट देखिनेछ।
जिल्ला प्रहरी कार्यालयले भने अपराध न्यूनीकरणका लागि नियमित गस्ती, सूचना संकलन, समुदायसँग सहकार्य र कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close