जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको सवारी दुर्घटनामा मृत्यु

कलैया । बारामा भएको मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको ज्यान गएको छ। ३३ वर्षीय पाण्डेको गए राती बिहीबार उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो।
कलैया उपमहानगरपालिका–१४ निवासी पाण्डे बुधबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ मोटरसाइकलमा आउँदै थिए। लक्ष्मिनिया चोक नजिक पुग्दा उनले चलाएको मधेश प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। कलैयामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल पठाइएको थियो। तर, चिकित्सकले राति करिब ११ बजे उनलाई मृत घोषणा गरेका थिए।
राजनीतिक क्षेत्रमा सक्रिय पाण्डेको दुर्घटनामा भएको निधनले जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्तामाझ शोक छाएको छ। उनको निधनबारे पार्टीका स्थानीय नेताहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
प्रहरीका अनुसार दुर्घटनापछि पाण्डेको शव बयोधा अस्पतालमै राखिएको छ। दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बसपार्कको नियन्त्रणमा रहेको छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक विवरणअनुसार मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको देखिए पनि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close