सिम्रौनगढमा युवतीको रहस्यमय मृत्यु : हत्या वा आत्महत्या?

बारा । सिम्रौनगढ नगरपालिका–५, सानो इटवाल गाउँमा घरायसी विवादपछि एक महिलाको रहस्यमय मृत्यु भएको छ। स्थानीयका अनुसार अन्होती साहकी बुहारी केही दिनयता घरायसी झैझगडाको अवस्थामा थिइन्।
बुधबार बिहान करिब ८ बजेको समयमा उनलाई घरभित्रै पासो लागेको अवस्थामा मृत फेला पारिएको बताइएको छ। घटनापछि स्थानीयबीच यो आत्महत्या हो वा हत्या भन्ने विषयमा प्रश्न उठेको छ।
घटनाको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएपछि प्रहरीले घटनास्थलको मुचुल्का, शव परीक्षण तथा आफन्त र स्थानीयसँग सोधपुछ गर्ने प्रक्रिया अघि बढाएको जनाइएको छ। प्रहरीले अनुसन्धान पूरा नगरेसम्म मृत्युको कारणबारे निष्कर्षमा पुग्न नसकिने जनाएको छ।
मृतकको माइतीघर रौतहटको लतमरी गाउँमा रहेको बताइएको छ। घरायसी विवादको पृष्ठभूमि र मृत्युको अवस्थाले घटनालाई थप संवेदनशील बनाएको छ।
प्रहरी अनुसन्धानबाट मृत्यु आत्महत्या नै हो वा त्यसपछाडि कुनै आपराधिक घटना लुकेको छ, त्यसको तथ्य बाहिर आउने अपेक्षा गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






