स्रोत नखुलेको ३९ लाख रुपैयाँसहित पचरौताका एक युवक पक्राउ

काठमाडौं, असार १८ । स्रोत खुलाउन नसकिएको करिब ३९ लाख ४२ हजार रुपैयाँ नगदसहित बारा जिल्ला पचरौताका एक युवक काठमाडौंमा पक्राउ परेका छ्न । पक्राउ परेपछि शंकास्पद आर्थिक कारोबारको कोणबाट प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति बारा जिल्लाको पचरौता नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको कालीमाटीमा बस्दै आएका २३ वर्षीय मनमोहन साह कलवार हुन्। उनी बिहीबार दिउँसो करिब २:४५ बजे काठमाडौं महानगरपालिका–६ स्थित जम्बुडाँडाको पहेँलो पुल क्षेत्रमा शंकास्पद अवस्थामा झोला बोकेर हिँडिरहेको अवस्थामा प्रहरीको निगरानीमा परेका थिए।
प्रहरीले नियमित सुरक्षा जाँचका क्रममा उनको साथमा रहेको झोला खानतलासी गर्दा नेपाली रुपैयाँ ३९ लाख ४१ हजार ६२० नगद फेला पारेको जनाएको छ। उक्त रकमको वैधानिक स्रोत तथा आवश्यक कागजात तत्काल प्रस्तुत गर्न नसकेपछि प्रहरीले रकमसहित उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ठूलो परिमाणमा नगद बोकेर हिँड्ने व्यक्तिमाथि नियमित निगरानी गर्ने क्रममा कलवारमाथि शंका उत्पन्न भएको थियो। प्रारम्भिक सोधपुछका क्रममा पनि रकमको स्पष्ट स्रोत खुल्न नसकेपछि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटनाको विस्तृत अनुसन्धान प्रहरी वृत्त बौद्धबाट भइरहेको छ। रकम कुनै अवैध कारोबार, हुण्डी, कर छली वा अन्य गैरकानुनी गतिविधिसँग सम्बन्धित छ वा छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले जनाएको छ।
हाल पक्राउ परेका कलवारसँग बरामद नगदको स्रोत, त्यसको प्रयोगको उद्देश्य, कसको लागि रकम ओसारपसार भइरहेको थियो भन्ने विषयमा बयान लिने तथा आवश्यक कागजात संकलन गर्ने काम भइरहेको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
पछिल्ला केही समययता काठमाडौं उपत्यकामा स्रोत नखुलेको ठूलो रकमसहित व्यक्ति पक्राउ पर्ने घटनाहरू बढ्दै गएका छन्। सुरक्षा निकायले यस्ता घटनालाई अवैध वित्तीय कारोबार नियन्त्रण अभियानसँग जोडेर निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ। प्रहरीका अनुसार ठूलो रकमको ओसारपसार गर्दा त्यसको वैधानिक स्रोत पुष्टि गर्न सक्ने कागजात साथमा राख्नुपर्ने कानुनी व्यवस्था रहेकाले त्यसको पालना नगर्दा अनुसन्धानको दायरामा पर्न सक्ने अवस्था रहन्छ।





