विरोध कार्यक्रममा नेतृत्व नै अनुपस्थित, युवा संघ आक्रोशित

रामबाबु मेहता। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सम्बद्ध विरोध कार्यक्रममा बारा जिल्लामा शीर्ष तहका नेता तथा जनप्रतिनिधिहरूको न्यून उपस्थिति देखिएपछि कार्यकर्ता पंक्तिमा तीव्र असन्तुष्टि देखिएको छ। कार्यक्रममा अपेक्षित रूपमा केन्द्रीय, प्रदेश र स्थानीय तहका नेताहरू उपस्थित नभएपछि युवा संगठनले कडा प्रतिक्रिया जनाएको छ।
उपस्थितिको विवरणअनुसार, पार्टीका ८ जना केन्द्रीय सदस्यमध्ये जम्मा २ जना मात्र कार्यक्रममा देखिएका थिए। त्यसैगरी २९ जना प्रदेश कमिटी सदस्यमा ७ जना, १३४ जना जिल्ला कमिटी सदस्यमध्ये केवल १५ जना मात्र उपस्थित भएको जनाइएको छ। बारामा जिल्ला पदाधिकारी, १६ वटै पालिकाका अध्यक्ष तथा सदस्यहरू, प्रदेश सभा सदस्यहरू र पालिका प्रमुख–उपप्रमुखहरूको समेत उपस्थिति अत्यन्त न्यून रहेको युवा संघका केन्द्रिय सदस्य राम यादवले बताइएको छ।
कार्यक्रममा सहभागी युवा संघ नेपालका कार्यकर्ताहरूले “संकटको बेला पार्टीका नेताहरू नै हराउनु दुःखद” भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले पार्टीबाट अवसर र पद लाभ लिने तर आवश्यक बेला जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग गरेका छन्।
युवा संघ नेपालले चेतावनी दिँदै भनेको छ, “पार्टीको नाममा लाभ लिने तर संघर्षको घडीमा लुकेर बस्नेहरूलाई आगामी निर्वाचनमा कडाइका साथ मूल्यांकन गरिनुपर्छ। अन्यथा युवा पुस्ता चुप लागेर बस्ने छैन, आवश्यक परे आफुहरु प्रतिवाद र प्रतिकारमा उत्रिने नेसनल भोल्युन्टिएर फोर्स को केन्द्रिय सदस्य तथा बारा इन्चार्ज मोहन लामिछानेले बताका छन ।
विरोध कार्यक्रममा देखिएको न्यून उपस्थितिले पार्टीभित्र आन्तरिक असन्तुलन, असन्तुष्टि वा समन्वयको अभाव रहेको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। अब नेतृत्व तहले यस विषयमा गम्भीर समीक्षा गर्दै संगठन सुदृढीकरणतर्फ कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।






