मधेश प्रहरीमा ‘असुली साम्राज्य’ को पर्दाफास ? घुमुवा नेटवर्कदेखि सीमासम्म सेटिङको गम्भीर खेल

रामबाबु मेहता, १० फागुन — मधेश प्रदेश प्रहरीभित्र लामो समयदेखि चलिरहेको भनिएको ‘अदृश्य साम्राज्य’ यतिबेला विस्तारै सतहमा आउन थालेको छ। घुमुवा प्रहरीको आवरणमा सञ्चालन भइरहेको कथित असुली नेटवर्क, तस्करीसँगको मिलेमतो र शक्तिको खुला दुरुपयोगले संगठनभित्रै गम्भीर प्रश्न खडा गरेको छ।
आन्तरिक स्रोतहरूले दिएको जानकारी अनुसार, प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको निकट मानिने बरिष्ठ सई गोपाल थापा मगरको नेतृत्वमा आठ जिल्लामा फैलिएको कथित असुली सञ्जाल व्यवस्थित ढंगले सञ्चालन भइरहेको छ। धनुषादेखि सप्तरीसम्म सादा पोशाकमा खटाइएका प्रहरीमार्फत तस्कर, व्यापारी र अवैध कारोबारीसँग ‘दररेट’ तोकेर मासिक रकम असुल्ने प्रणाली नै बसालिएको दाबी गरिएको छ।
सीमावर्ती क्षेत्रहरू—सप्तरीदेखि रौतहट ,बारा र वीरगञ्जसम्म—तस्करी प्रहरीकै ‘सेटिङ’ मा निर्बाध चलिरहेको र त्यसको कमाण्ड एउटै नेटवर्कले सम्हालिरहेको गम्भीर आरोप स्रोतहरूले लगाएका छन्। अझ चकित पार्ने कुरा त के छ भने, सीमा सुरक्षामा खटिएका युनिट कमाण्डरहरूमाथि समेत ‘माथिल्लो आदेश’ भन्दै रकम बुझाउन दबाब दिइने, नमाने सरुवा वा कारबाहीको धम्की दिइने गरिएको छ।
‘तलबभन्दा बढी असुली’—प्रणाली नै भ्रष्टाचारमुखी?
स्रोतहरूका अनुसार रकम बुझाउनेलाई आकर्षक पोस्टिङ, नमिल्नेलाई पाखा लगाउने चलनले संगठनभित्र असन्तोष विस्फोटक अवस्थामा पुगेको छ। प्रहरीभित्रै ‘कामभन्दा कमिशन’ प्राथमिकतामा परेको गुनासो बढ्दो छ।
यसैबीच, भारततर्फ सर्लाहीको सोनवर्सा र धनुषाको जयनगर क्षेत्रमा भारतीय एसएसबीले ठूलो परिमाणमा तस्करीका सामान नियन्त्रणमा लिएपछि ‘सेटिङ’ को रहस्य बाहिरिएको दाबी गरिएको छ। सीमापारि पक्राउ परेका सामानहरूले नेपालतर्फको संरक्षित तस्करी प्रणालीतर्फ औंला ठड्याएको स्रोतको भनाइ छ।
विवादित पात्र पुनः जिम्मेवारीमा—संरक्षण कसको?
सबैभन्दा गम्भीर प्रश्न भने विवादमा तानिएका बरिष्ठ सई गोपाल थापा मगर पुनः मधेशमै फर्किएको विषयमा उठेको छ। केही समयअघि केन्द्र तानिएका उनी पुनः संवेदनशील जिम्मेवारीमा फर्कनु ‘संरक्षणको जालो कति बलियो छ?’ भन्ने संकेतका रूपमा हेरिएको छ।
त्यसैगरी, संघीय प्रहरी कार्यालय जनकपुरमा कार्यरत सई जयलाल प्रसाद यादवमाथि पनि सिरहा, सप्तरी र धनुषा क्षेत्रमा अवैध असुलीमा संलग्न रहेको आरोप छ। लामो समय एउटै क्षेत्रमा टिकेर उनले तस्कर र हुण्डी नेटवर्कसँग गहिरो सम्बन्ध बनाएको दाबी गरिएको छ।
वीरगञ्ज, बारा , रौतहट र महोत्तरीमा कार्यरत अन्य केही प्रहरी कर्मचारीहरू पनि असुली रकम संकलन गरी माथिल्लो तहसम्म पुर्‍याउने ‘चेन’ को हिस्सा रहेको आरोप छ। स्रोतका अनुसार सर्लाहीबाट मात्रै लाखौँ रुपैयाँ नियमित रूपमा काठमाडौं पठाइने गरिएको छ।
उजुरी थुप्रिए, छानबिन शून्य—किन मौन केन्द्र?
प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन महाशाखामा यस्ता विषयमा दर्जनौँ उजुरी परे पनि हालसम्म कुनै ठोस छानबिन अघि नबढ्नुले थप आशंका जन्माएको छ। ‘उजुरी गरे पनि केही हुँदैन’ भन्ने मनोवृत्तिले यस्ता नेटवर्क झन् बलियो बन्दै गएको आरोप छ।
प्रणाली नै दोषी कि केही व्यक्ति मात्र?
विज्ञहरूका अनुसार यो प्रकरण केही व्यक्तिमा सीमित नभई समग्र घुमुवा प्रणाली, सिभिल परिचालन र अधिकार वितरणको अपारदर्शितासँग जोडिएको छ। यदि समयमै निष्पक्ष छानबिन भएन भने मधेश प्रहरीप्रतिको जनविश्वास गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिइएको छ।
अब मूल प्रश्न उभिएको छ—
के यो ‘असुली साम्राज्य’ साँच्चै छानबिनको दायरामा आउला?
कि फेरि पनि शक्तिको आडमा सत्य दबाइनेछ?
मधेश प्रहरीभित्र उठेको यो आँधी अब कसरी थामिन्छ, त्यसले राज्य संयन्त्रको विश्वसनीयतामै परीक्षा लिनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close