तीन दिनसम्म भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभाग ले जारी गरेको पूर्वानुमानअनुसार चैत ६ गते शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने देखिएको छ।
त्यसैगरी, शुक्रबारदेखि तराई क्षेत्र, विशेषगरी लुम्बिनी प्रदेशका केही जिल्ला र पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाइएको छ। हावाको गति प्रतिघण्टा १०० किलोमिटरसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।
प्राधिकरणले हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम औंल्याएको छ। हालैका दिनहरूमा हावाहुरीका कारण जनधनको क्षति समेत भइसकेकाले थप सावधानी अपनाउन आग्रह गरिएको छ।
नागरिकलाई अनावश्यक बाहिर ननिस्कन, हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न, घरका झ्यालढोका मजबुत बनाइ राख्न तथा आगलागीको जोखिम कम गर्न आगोका स्रोतहरू बन्द राख्न सुझाव दिइएको छ। सवारी साधन चलाइरहेका व्यक्तिहरूलाई पनि सुरक्षित स्थानमा रोकिन र सतर्कता अपनाउन भनिएको छ।
त्यस्तै, हावाहुरीको समयमा विद्युत् तार, पोल तथा कमजोर संरचनाबाट टाढा रहन, बिजुलीका उपकरण प्रयोग नगर्न तथा जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ।
प्राधिकरणले मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि सम्बन्धित निकायका सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ।





