राष्ट्रिय सभामा सरकारलाई धक्का, जसपा बाहिरिएपछि अल्पमतमा

अहिले चर्चामा
world-link-banner-ad
राजनीति
राष्ट्रिय सभामा सरकारलाई धक्का, जसपा बाहिरिएपछि अल्पमतमा
फाइल।
भुवन शर्मा काठमाडौँ ११ असार २०८२ २ मिनेट पाठ
उपेन्द्र यादवले नेतृत्व गरेको जनतामा समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार जसपा नेपालको ९ र १० गते बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पार्टीले गरिसकेको छ। आज भोली नै जसपाको संसदीय दलको बैठक बस्दै छ’ सुमनले भने, ‘त्यसपछि दलले निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सभामुखलाई चिठी पठाउने छ।’
सुमनका अनुसार अब जसपा संसद्को प्रतिपक्ष बेन्चमा बस्ने छ र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने भएको छ। ‘अब पनि सरकारलाई समर्थन दिइरहनुको औचित्य हामीले देखेनौं’ सुमनले भने, ‘केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँले संविधान संशोधन, सुशासन, भ्रष्ट्राचारको अन्त्य र आर्थिक संवृद्धि गरी ४ वटा एजेण्डा ल्याउनु भएको थियो। कुनै पनि एजेण्डा पूरा भएन। त्यसैले समर्थन फिर्ता लिने निर्णय गरेका हौं।’
जसपाले समर्थन फिर्ता लिए पछि सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको जसपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगन्द्र सिंह यादवले बताए।
अहिलेको राष्ट्रिय सभामा माओवादीको संख्या १८ (एक राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल), नेपाली कांग्रेस १६, एकीकृत समाजवादी ८, जसपा नेपाल ३, जनमोर्चा १, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ र एक जना स्वतन्त्र (बामदेव गौतम) छन्।
यसैगरी राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत एक (अञ्जना शाक्य) सहित एमालेबाट ११ जनाको उपस्थिति रहेको छ।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा सरकारको पक्षमा राष्ट्रिय सभामा २८ जना सदस्यको मात्र समर्थन हुन्छ। त्यसमा वामदेव गौतमले समर्थन गरे भने सरकारको पक्षमा २९ पुग्छ।
तै पनि बहुमत हुनलाई एक जना पुग्दैन। त्यसैले जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने राष्ट्रिय सभामा सरकार अल्पमत पर्छ। राष्ट्रिय सभाको बनौट ५९ सदस्यीय छ।
राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्यो भने कानुनी रूपमा सरकार ढल्दैन, तर सरकारले संसद्मा ल्याएका विधेयकमाथिको बिजनेस भने प्रभावित हुन सक्छ।
प्रतिनिधिसभामा जसपाका ५ जना सदस्य छन्। जसपा फुट्नु भन्दा पहिले प्रतिनिधि सभामा जसपासँग १२ जना सदस्य थिए। २०८१ चैतमा अशोक राई, इस्तिायक राई लगायतका ७ जना सांसदहरूले जसपा नेपाल फुटाइ जसपा पार्टी गठन गरेका थिए।
यस पार्टीको आधिकारिता नभएको भन्दै जसपा नेपालले सर्वोच्चमा मुद्दा दायर गरेको छ। यस विषयमा अदालतले भदौ १५ गते पेशी राखेको छ।




