नक्कली नेपाली नोटको कारोबार बढ्दो, रौतहट पहिलो र बारा दोस्रो स्थानमा

बारा । मधेस प्रदेशको बारा जिल्लामा पछिल्लो समय नक्कली नेपाली नोटको कारोबारमा वृद्धि भएको पाइएको छ ।
मधेस प्रदेशका आठ जिल्लामध्ये पहिलो स्थानमा रौतहट जिल्ला रहेको छ भने बारा नक्कली नोटको कारोबार हुने दोस्रो स्थानमा परेको छ । प्रहरीको तथ्याङ्क अनुसार, आर्थिक वर्ष ०८०÷०८१ मा बाराबाट १३ लाख ८९ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको छ । यस अवधिमा बारा जिल्लाबाट १२ जना व्यक्ति नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।
मधेस प्रदेशमा रौतहट जिल्ला सबैभन्दा बढी जाली नोटको कारोबार हुने जिल्ला हो । आर्थिक वर्ष ०८०÷०८१ मा रौतहटबाट झन्डै २० लाख
रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद भएका छन्। प्रहरीको अभिलेख अनुसार, पर्सा र सर्लाही जिल्लाहरू पनि नक्कली नोटको कारोबारमा उर्वर देखिएका छन्। अघिल्लो आर्थिक वर्ष पर्साबाट १ लाख ६४ हजार र सर्लाहीबाट १६ हजार ८२० रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको थियो।
मधेस प्रदेशका बारा, रौतहट, पर्सा, र सर्लाही जिल्लाहरूबाट गत वर्षभरिमा करिब ३५ लाख ८६ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद गरिएको छ। यस अवधिमा ३८ जना व्यक्तिहरू नक्कली नोटसहित पक्राउ परेका थिए, जसमा रौतहटबाट मात्रै १६ जना समावेश थिए।
रौतहटमा नेपाली नक्कली नोटको कारोबार बढ्दै गएपछि मधेस प्रहरीले यस जिल्लालाई ‘रेड’ सूचीमा राखेको छ। प्रहरीको आकलन अनुसार, खुला सिमानाका कारणले मधेसमा नक्कली नोटहरू भारतबाट भित्रिरहेको छ। रौतहटमा यसको सञ्जाल बढी देखिएको छ, जसले प्रदेश प्रहरीलाई सतर्क बनाएको छ। प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले मधेसमा पछिल्लो समय नक्कली नोटहरूको बरामदगी बढेको बताएका छन्।







