सरकारी सूचनाबारेको निर्णयप्रति प्रेस सेन्टर नेपालको आपत्ति, निर्णय सच्याउन माग

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचनाहरू सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन गर्न दिएको निर्देशनप्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ।
प्रेस सेन्टर नेपालले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयले प्रेस स्वतन्त्रता संकुचित गर्ने र व्यावसायिक पत्रकारितालाई कमजोर बनाउने आरोप लगाएको छ। यसले संघीयताको मर्ममाथि समेत प्रहार गरेको दाबी संगठनको छ।
महासचिव मनोज घर्तीमगरद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारी तथा निजी सञ्चारमाध्यममा कार्यरत हजारौँ श्रमजीवी पत्रकार प्रभावित हुने भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ। साथै, समानुपातिक विज्ञापन प्रणाली लागू गर्न र सञ्चारमाध्यमप्रति समान व्यवहार गर्न आग्रह गरिएको छ।
निर्णय सच्याइएन भने सम्पूर्ण सञ्चार क्षेत्र आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत प्रेस सेन्टर नेपालले दिएको छ।



