संवैधानिक प्रावधानलाई एमालेले मजाक बनाएको प्रभु साहको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) ले संवैधानिक प्रावधानलाई मजाक बनाएको आरोप लगाएका छन्। देवाही–गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानूलाई पदमुक्त गराइएको विषयलाई लिएर उनले एमालेले लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्मविपरीत काम गरेको दाबी गरेका हुन्।
साहले स्थानीय तहका पदाधिकारीको पद रिक्त हुने अवस्था संविधानमा स्पष्ट रूपमा राजीनामा, मृत्यु वा पदावधि समाप्त भएको अवस्थामा मात्र उल्लेख गरिएको भन्दै मेयर कानूलाई पदमुक्त गर्नु असंवैधानिक भएको बताए। उनका अनुसार संविधानको धारा २१६ को उपधारा (८) ले स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पद रिक्त हुने अवस्था स्पष्ट रूपमा व्यवस्था गरेको छ।
उनले अर्को दलबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पार्टीमा प्रवेश गराएको एमाले नेतृत्वले प्रेमलाल साह कानूलाई पदमुक्त गर्नु दोहोरो मापदण्ड भएको टिप्पणी गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपाबाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतका जनप्रतिनिधिलाई एमालेमा प्रवेश गराएको प्रसंग स्मरण गराउँदै साहले मेयर कानूले दल त्याग नगरेको अवस्थामा पदमुक्त गर्नु हाँस्यास्पद भएको बताए।
साहले एमालेले सत्ता र शक्तिको बलमा संविधान र कानूनविपरीत नगरपालिकामाथि नियन्त्रण जमाउने उद्देश्यले मेयरलाई हटाएको आरोप पनि लगाए। उनले मेयर प्रेमलाल साह कानू आफ्नो लोकप्रियताका आधारमा निर्वाचित भएको दाबी गर्दै एमाले नेतृत्वलाई नैतिकताको ख्याल गर्न आग्रह गरे । कानु केहीअघि आजपा प्रवेश गरेका थिए ।
सभार : रातोपाटी






