सिम्रौनगढमा ९ लाख नक्कली नेपाली नोटसहित ३ जना पक्राउ

रामबाबु मेहता-
जिल्ला प्रहरीका कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको सिमावर्ती क्षेत्र सिम्रौनगढ नगरपालिका ५, कनकपुरमा ९ लाख नेपाली नक्कली नोटसहित १ जना र पछि २ जना गरी ३ जनालाई पक्राउ गरेको छ ।
नेपाल-भारत सिमावर्ती क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको भन्ने विषेश सूचनाका आधारमा प्रहरी नायब निरिक्षक श्याम प्रकाश यादवको कमाण्डमा खटिएको प्रहरीको टोलिले सिम्रौनगढ नगरपालिकाको वडा न.०५ कनकपुर गाउँ नजिक चेकजाँच गर्दा मोतिहारी पूर्व चम्पारण ग्राम पोष्ट पिप्राकोठी बस्ने २५ वर्षिय रञ्जितकुमार मुखियाले आफनो कम्मरको पेटीमा १ लाख र उनी चढेको भारतीय नम्बरको मोटरसाइकलमा ८ लाख रुपैयाँ लुकाई राखेको अवस्थामा प्रहरीले प्रकाउ गरेको छ ।
पक्राउ परेका रञ्जितकुमारसँगको बयानका आधारमा सिम्रौनगढ नगरपालिका वाडा नं २ बस्ने बिनाका मुखिया बिन र कलैया उपमहानगर वाडा नं १५ बस्ने सैनुल्लाह अंसारीलाई पनि पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका बिनाका बिन मुखिया र अंसारी भने १ वर्ष अघि नक्कली नोट कारोबारमा छुटेको प्रहरीले जनाएको छ ।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले चुनावको मौका छोपेर सक्कली र नक्कली नोट पत्ता लगाउन नसक्ने ग्रामिण समुदायमा प्रयोग गर्ने उद्देश्यले नक्कली नोट बजार ल्याइएको बताउनु भएको छ । यी नक्कली नोटहरु हाई क्वालिटीको पिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ, यसको मुख्य उद्देश्य चुनावका बेला गाउँका सोझा जनतालाई झुक्याएर यसको प्रयोग ल्याउने मुख्य उद्देश्य रहेको प्रहरी उपरीक्षक बोगटीले बताउनु भयो । बारा प्रहरीले सोमवार पत्रकार सम्मेलन गरेर नक्कली नोट सहित पक्राउ परेका ३ जनालाई सार्वजनिक गरेको छ ।






