भ्रममा नपर्न नेपाली कम्युनिस्ट पार्टीको आग्रह

काठमाडौं, — नेपाली कम्युनिष्ट पार्टी एकीकरण सम्बन्धी आयोगमा बुझाइएका विवरणलाई लिएर भइरहेका विभिन्न टिप्पणी र भ्रमका विषयमा स्पष्टिकरण दिंदै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भ्रममा नपर्न आग्रह गरेको छ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा एक दर्जनभन्दा बढी वाम विचारधाराका समूहहरू मिलेर गठन हुँदै गरेको नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसैबीच सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनमा भाग लिने उद्देश्यले निर्वाचन आयोगले यही मंसिर ३० गतेभित्र दल दर्ता प्रक्रिया पूरा गर्न पर्ने जानकारी गराएको थियो।

निर्वाचन प्रयोजनको दल दर्ता प्रक्रियाअन्तर्गत आयोगमा बुझाइएका विवरणकै कारण कतिपय ठाउँमा भ्रम फैलिएको भन्दै सचिवालयले वास्तविकताबारे जानकारी गराएको हो। सचिवालयका अनुसार आयोगमा पेश गरिएको नामावलीमा पार्टी संरचना टुंगो लागेको भन्ने बुझाइ गलत हो।

सचिवालयले स्पष्ट पारेको छ कि —

पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा समितिहरू आपसी सहमतिका आधारमा गठन हुनेछन्। यसका लागि आवश्यक गृहकार्य भइरहेको छ।

एकीकृत पार्टीको केन्द्रीय समिति तथा अन्य संरचनाहरू पनि यही सहमति प्रक्रियामार्फत नै अन्तिम रूप दिन लागिएको उल्लेख गरिएको छ।

चुनावको व्यवस्थापकीय आवश्यकता र समयाभावका कारण आयोगमा एकीकरणपूर्वकै स्थायी समिति सदस्यहरूको सूची दर्ता गराइएको थियो। सोही क्रममा कानुनअनुसार एक तिहाइ महिला अनिवार्य समावेशको बाध्यताका कारण तत्काल उपलब्ध रहेकी १३ जना महिला केन्द्रीय सदस्यहरूको नाम थपेर प्रतिशत मिलाइएको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार यो छुट्टै नयाँ संरचना होइन र पार्टीको स्थायी अंग वा अंतिम पदाधिकारी सूचीका रूपमा बुझ्नु हुँदैन। नयाँ संरचना बिधान अनुसार सहमतिको आधारमा बनाइनेछ।

अन्त्यमा सचिवालयले सबै कार्यकर्ताहरू, समर्थक तथा जनसमुदायलाई कुनै पनि भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियान सफल बनाउन एकताबद्ध रहन अपिल गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close