भारी वर्षाको जोखिमपछि कलैयाका विद्यालय दुई दिन बन्द

बारा । देशका विभिन्न स्थानमा भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हावाहुरीसहितको मौसम प्रतिकूल हुने पूर्वानुमानपछि कलैया उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बन्द हुने भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारले जारी गरेको सार्वजनिक सूचनालाई आधार बनाउँदै कलैया उपमहानगरपालिकाले २०८३ असोज ८ गते बिहीबार र असोज ९ गते शुक्रबार विद्यालयमा पठनपाठन बन्द गरी बिदा दिने निर्णय गरेको हो।
मन्त्रालयले असोज ८ र ९ गते विद्यार्थी, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ।
मन्त्रालयको सूचनामा जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रबाट प्राप्त पूर्वानुमानअनुसार भारी वर्षा, बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुनसक्ने जोखिम औंल्याइएको छ।
विद्यार्थीको सुरक्षा र सम्भावित जोखिमलाई ध्यानमा राख्दै कलैया उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाले जनाएको छ।
मन्त्रालयले यस अवधिमा विद्यालयसँगै स्थानीय तह र सरोकारवाला निकायलाई विपद्को जोखिम न्यूनीकरण तथा विद्यार्थीको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
त्यस्तै, मन्त्रालयले अभिभावकहरूलाई पनि बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा नजान दिन अनुरोध गरेको छ।
मौसम प्रतिकूल रहेकाले विद्यालय बन्द गर्ने निर्णयलाई विद्यार्थी तथा शिक्षकको आवतजावतमा हुनसक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यका रूपमा लिइएको छ। कलैया उपमहानगरपालिकाको शिक्षा शाखाले सम्बन्धित सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।
यसैबीच, मन्त्रालयको सूचनाअनुसार असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने भनिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्नसमेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close