सेनेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवालसमेत पाँच जना उपर विशेष अदालतमा आरोपपत्र दायर

कलैया : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेनेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै पाँच जना उपर भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।
कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद प्रसाद वर्णवाल शिक्षा अधिकृत विजय अधिकारी,जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ,सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाह विरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र मंगलबार दायर गरिएको अख्तियारले जनाएको छ।
कलैया उपमहानगरपालिकाको कार्यालयले आ.व. २०७७/०७८ र २०७८/०७९ को लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको भन्ने उजूरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो।राष्ट्रसेवकसँगको आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरुको बोलपत्र पेश गरी/गराई प्रति प्याकेट सेनिटरी प्याडको मूल्य रु.७८ कायम गरी ठेक्का दिएको समेत आरोपपत्रमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रति प्याकेट रु.२४ मा खरिद गरेको देखिएको थियो। पछिल्लो बर्ष भन्दा अघिल्लो बर्ष प्रति प्याकेटमा रु.५४ दरले ९६,२८० प्याकेटको जम्मा रु.५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बढी भुक्तानी गरेको खुलेको छ।
प्रतिवादीहरु प्रहलाद प्रसाद वर्णवाल,विजय अधिकारी,राजेश ठाकुर हजाम र दिव्या सर्राफको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (ङ) र (ञ) बमोजिमको कसुर गरेको दावी अख्तियारको रहेको छ।






