बिहार विधानसभा निर्वाचन : लालु-नीतिश युगमाथि भारी पर्लान् पिके ?
बिहार निर्वाचनमा वैकल्पिक दलको चर्चा

काठमाडौ ३ श्रावण -नेपाली सिमाना जोडिएको भारतको बिहार प्रदेशको विधानसभा निर्वाचन यही अक्टोबर–नोभेम्बरमा हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल पनि तात्दै गएको छ।
विगतमा वर्तमान मुख्यमन्त्री नीतिश कुमार र पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवबिचको मित्रता र प्रतिस्पर्धाको केन्द्रका रूपमा बिहार परिचित थियो। अहिले लालु यादव राजनीतिबाट लगभग अवकाशको जीवन व्यतित गरिरहँदा उनका कान्छा छोरा तेजस्वी यादवले मोर्चा सम्हालिरहेका छन्।
अहिलेको निर्वाचनमा मुख्यमन्त्री नीतिश नेतृत्वको सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी महागठबन्धनबिचको प्रतिस्पर्धामा प्रशान्त किशोर (पिके) नेतृत्वको जन सुराज पार्टी नयाँ खेलाडीका देखिएको छ।
चुनावी रणनीतिकारबाट राजनीतिज्ञ बनेका पीकेले जन सुराजलाई बिहारको वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी लक्ष्य राखेका छन्। उनले सबै २४३ सिटमा उम्मेदवारी दिने र कुनै गठबन्धनसँग हात नमिलाउने घोषणा गरेका छन्। तर, उनको यो अभियानले बिहारको जटिल राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्ला? के जन सुराजले स्थापित दलहरूलाई चुनौती दिँदै वैकल्पिक शक्ति बन्न सक्ला ? भन्ने प्रश्न अहिले बिहारको राजनीतिलाई नजिकबाट हेर्नेका मनमा उब्जिरहेको छ।
प्रशान्त किशोर र जन सुराजको उदय
प्रशान्त किशोर, जसलाई ‘पीके’ भनेर चिनिन्छ, बिहारको बक्सर जिल्लामा सन् १९७७ मा जन्मिए। इन्जिनियरिङ पृष्ठभूमिका किशोरले संयुक्त राष्ट्रसंघमा सार्वजनिक स्वास्थ्य क्षेत्रमा काम गरे। सन् २०११ मा भारत फर्किएपछि उनले राजनीतिक रणनीतिकारका रूपमा ख्याति कमाए।
सन् २०१२ मा नरेन्द्र मोदीको गुजरात अभियान, २०१५ मा नीतीश कुमारको बिहार विधानसभा चुनाव, र २०१९ मा आन्ध्र प्रदेशमा वाइएसआर कांग्रेसको जितमा उनको रणनीति निर्णायक साबित भयो। यी सफलताहरूले उनलाई ‘चुनावी जादुगर’ को उपनाम दिलायो। सन् २०२२ मा पिकेले ‘बात बिहार की’ अभियान सुरु गरेर १७ जिल्लामा पाँच हजार किलोमिटरको पदयात्रा गरे, जुन सन् २०२४ मा जन सुराज पार्टीमा परिणत भयो।
अहिले बिहार बदलाव यात्रामार्फत उनले गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। यो अभियानले उनलाई जनताको नजिक ल्याएको छ, पार्टीको सन्देशलाई व्यापक बनाउन सहयोग गरेको छ। उनको यो यात्रालाई अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) को प्रारम्भिक दिनहरूसँग तुलना गरिन्छ, जसले दिल्लीमा स्थापित दलहरूलाई चुनौती दिएको थियो।
तर बिहारको जटिल जातीय, सामाजिक, र आर्थिक समीकरणमा उनको यात्रा कति सफल होला? यो प्रश्नले ठूलो चर्चा पैदा गरेको छ। जन सुराजले बिहारको जात–आधारित राजनीति र लालु–नीतीश युगलाई चुनौती दिने रणनीति अघि सारेको छ। पिकेले ‘स्कुल ब्याग’ लाई चुनावी चिन्ह बनाएर शिक्षा र रोजगारीलाई प्राथमिकता दिएका छन्। उनको चुनावी एजेन्डामा (शिक्षा सुधार, मद्यपान निषेध हटाएर राजस्व वृद्धि, बैंकिङ सुधार, वृद्धावस्था पेन्सन, र कृषि सुधार) समावेश छन्।
बिहार बदलाव यात्रामार्फत उनले गाउँ–गाउँ पुगेर जनतासँग संवाद गरिरहेका छन्। एक चुनावी कार्यक्रममा उनले भने, ‘बिहारका जनताले मन्दिर र जातको नाममा भोट दिए, आफ्ना सन्तानको भविष्यका लागि भोट दिएनन्। यदि हामी सत्तामा आएर तपाईंका सन्तानले राम्रो शिक्षा र रोजगारी पाएनन् भने मेरो कठालो समात्नुहोस्।’
नयाँ दल भएका कारण जन सुराजले ९० प्रतिशत टिकट नयाँ अनुहारलाई दिने तयारी गरेको छ। ४० प्रतिशत महिला उम्मेदवारलाई दिने, दलित नेता मनोज भारतीलाई कार्यकारी अध्यक्ष बनाउने र मुस्लिम समुदायलाई ४० सिटमा टिकट दिने प्रतिबद्धता जनाएर समावेशी छवि बनाएको छ। जन सुराजले युवा मतदातालाई आकर्षित गर्न खोजेको छ। उसले स्थापित दलहरूको भ्रष्टाचार, परिवारवाद, र पुरानो शैलीको राजनीतिलाई चुनौती दिने लक्ष्य राखेको छ।
पुराना दलविरुद्ध आक्रामक बयान
प्रशान्त किशोरले बिहारका स्थापित दलहरू–जनता दल (युनाइटेड), राष्ट्रिय जनता दल (आरजेडी) र भारतीय जनता पार्टी (भाजपा)को कडा आलोचना गर्दै आएका छन्। उनले यी दलहरूलाई बिहारको विकासमा बाधक र भ्रष्टाचारको प्रतिकका रूपमा प्रस्तुत गरेका छन्।
मुख्यमन्त्री नीतीश कुमारको शारीरिक र मानसिक अवस्था कमजोर भएको दाबी गर्दै उनले भन्ने गरेका छन्, ‘मुख्यमन्त्रीको विश्वसनीयता समाप्त भएको छ। अब नीतीश होइन, उनका वरिपरिका तीन–चार भ्रष्ट मन्त्री र अधिकारीहरूले सरकार चलाइरहेका छन्।’ उनले बिहारको कानुन व्यवस्थामाथि प्रश्न उठाएका छन्, ‘विगत तीन वर्षदेखि हत्याहरू भइरहेका छन्, तर कसैले ध्यान दिएको छैन।’
पिकेले आरजेडी र लालु यादवको परिवारलाई ‘जंगल राज’ को पर्याय बताउँछन्। सुपौलमा आयोजित एक कार्यक्रममा उनले भने, ‘जब लालु र राबडीको सरकार थियो, बिहारलाई कट्टा, अपहरण, र लुटपाटको केन्द्र बनाइयो। यदि यी मानिसहरू फेरि सत्तामा आए भने, बिहार त्यही अवस्थामा फर्किनेछ।’
पिकेले भाजपालाई मन्दिर–मस्जिद र हिन्दू–मुस्लिमको मुद्दामा जनतालाई भ्रमित गरेको आरोप लगाउने गरेका छन्। उनी भन्छन्, ‘भाजपाले राम र सीताको नाममा भोट माग्छ, तर बिहारका लागि रोजगारी र शिक्षा दिँदैन।’
कांग्रेस आईलाई ‘आरजेडीको कठपुतली’ भन्दै उनले बिहारमा यसको प्रभाव नभएको दाबी उनको छ। उनका अनुसार बिहारमा केवल जेडीयू, आरजेडी, र भाजपा मात्र छन्। उनी पुराना दलहरूको कमजोरी उजागर गर्दै जन सुराजलाई स्वच्छ र विकासमुखी विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन्। उनले जनतालाई ‘लालु, नीतीश, र मोदीको डरले होइन, परिवर्तनका लागि मतदान गर्न’ अपिल गरेका छन्।
आरोपमुक्त छैनन् पिके र जन सुराज
प्रशान्त किशोर र जन सुराजले पुराना दलमाथि आरोपैआरोप लगाए पनि उनी स्वयं भने आरोपमुक्त छैनन्। उनी र उनको पार्टीमाथि विभिन्न आरोपहरू लागेका छन्।
विपक्षी दलहरू विशेषगरी कांग्रेस र आरजेडीले पिकेलाई ‘भाजपाको बि–टिम’ को संज्ञा दिने गरेका छन्। बिहार प्रदेश कांग्रेसका प्रवक्ता स्नेहाशिष वर्धन पाण्डेले भनेका छन्, ‘प्रशान्त किशोर भाजपाका एजेन्ट हुन्, जो बिहारमा भ्रम फैलाउन आएका छन्। उनले गान्धीजीको तस्बिर राखेर उनको विचारलाई लिलामी गरिरहेका छन्।’
यो आरोपलाई आरजेडीले पनि बल दिएको छ। विपक्षीहरूले उनको अभियानलाई एनडीएलाई फाइदा पुर्याउने रणनीतिका रूपमा हेरेका छन्। भाजपाले जन सुराजलाई चुनावमा सीमित प्रभाव भएको नवप्रवेशी दलका रूपमा हेर्छ। भाजपाले किशोरको सबै २४३ सिटमा लड्ने रणनीतिलाई एनडिएको मत बाँड्ने सम्भावित प्रयासका रूपमा लिएको छ।
केही आलोचकहरूले पीकेमाथि राजनीतिक अवसरवादको आरोप लगाएका छन्। उनको विगतमा विभिन्न दलहरू (भाजपा, जेडीयू, शिवसेना र अन्य) सँग काम गरेको इतिहासलाई लिएर उनीमाथि ‘विश्वास गर्न नसकिने’ भन्ने आरोप लाग्छ। पाण्डेले थप्दै भने, ‘पिके न त तीनमा छन् न त तेह्रमा। उनले छिटो राजनीतिक स्थान पाउन बकवास कुरा गरिरहेका छन्।’
बिहारको राजनीति जातीय समीकरणमा आधारित छ। तर पिकेले यो पक्षलाई बेवास्ता गरेको भन्दै आलोचना भएको छ। उनको ‘सबैका लागि विकास’ को नाराले जातीय आधारमा मतदातालाई प्रभावित गर्न गाह्रो हुन सक्ने आलोचकहरूको भनाइ छ।
जन सुराजको संगठनात्मक संरचना कमजोर भएकोले स्थापित दलहरूको बलियो संगठन, कार्यकर्ता आधार, र आर्थिक स्रोतसाधनविरुद्ध प्रतिस्पर्धा गर्न कठिन हुने प्रश्न उठाइएको छ। बिहार बदलाव यात्राले जनतासम्म पुग्ने प्रयास गरे पनि, ग्रामीण र सहरी क्षेत्रमा बलियो संगठन निर्माण गर्न समय लाग्न सक्छ।
सम्भावित उम्मेदवारी र चुनौती
प्रशान्त किशोरले राघोपुर वा बक्सरबाट चुनाव लड्ने सम्भावनाले बिहारको राजनीतिमा तरङ्ग ल्याएको छ। राघोपुर लालु यादवको परिवारको गढ मानिन्छ, जहाँ तेजस्वी यादव सन् २०१५ देखि विधायक छन्। पीकेले तेजस्वीविरुद्ध लड्ने संकेत गरेर ठुलो जोखिम मोल्ने रणनीति अपनाएका छन्।
बक्सर उनको गृहनगरसँग जोडिएको छ, जहाँ उनले कक्षा १२ सम्म पढेका थिए। बक्सरको जातीय समीकरण र व्यक्तिगत सम्बन्धले यो सिटलाई अनुकूल बनाउन सक्छ। सन् २०२० मा बक्सर महागठबन्धनले जितेको थियो, तर पीकेको उम्मेदवारीले यहाँको समीकरण बदलिन सक्छ। यी सिटहरूमा उनको निर्णयले जन सुराजको अभियानको दिशा निर्धारण गर्नेछ।
बिहारको राजनीति दशकौँदेखि नीतीश कुमार, लालु यादव, र भाजपाको वरिपरि घुमिरहेको छ। यी दलहरूले जातीय समीकरण, धार्मिक ध्रुवीकरण, र परिवारवादको आधारमा मतदातालाई प्रभावित गर्छन्।
जन सुराजले यी समीकरण तोड्न विश्वसनीय उम्मेदवार र बलियो संगठन चाहिन्छ। पीकेमाथि लागेका ‘भाजपाको बी–टिम’ को आरोपले उनको छविलाई प्रभावित गर्न सक्छ।
दशकौँदेखि पुराना दलहरूको वरिपरि घुमेको बिहारको राजनीतिमा प्रशान्त किशोरको जन सुराजले नयाँ सम्भावनाको ढोका खोलेको छ। उनको स्वच्छ छवि, विकासमुखी एजेन्डा, र पुराना दलहरूलाई आलोचना गर्ने रणनीतिले जनतामा आशा जगाएको छ।
पीकेको रणनीति र सम्भावित उम्मेदवारीलाई केजरीवालको प्रारम्भिक यात्रासँग तुलना गरिएको छ। केजरीवालले दिल्लीमा सहरी मध्यमवर्ग र युवालाई आकर्षित गरेका थिए। तर बिहारमा ग्रामीण मतदाता र जातीय समीकरणको प्रभाव बढी छ। यदि पीकेले राघोपुरमा तेजस्वीविरुद्ध जिते भने यो ऐतिहासिक उपलब्धि हुनेछ, तर हारले उनको छविमा धक्का लाग्न सक्छ। नीतीश, लालु, र भाजपामाथि लगाएका उनको गम्भीर आरोपहरू र उनीमाथि लागेका ‘भाजपाको एजेन्ट’ जस्ता काउन्टर आरोपहरूले उनको अभियानलाई जटिल बनाएका छन्।
बिहारको जटिल जातीय समीकरण, स्थापित दलहरूको बलियो संगठन, र जन सुराजको संगठनात्मक कमजोरीले उसको बाटोलाई कठिन बनाउन सक्छ। जन सुराज बिहारमा वैकल्पिक शक्ति बन्न सक्ने सम्भावना छ। तर त्यसका लागि संगठनात्मक बल, विश्वसनीय उम्मेदवार, र मतदाताको विश्वास जित्नु आवश्यक छ। बिहार बदलाव यात्रा र चुनावी रणभूमिमा पीकेको प्रदर्शनले यो सम्भावनालाई वास्तविकतामा बदल्ने कि नबनाउने, त्यो आगामी चुनावले निर्धारण गर्नेछ। एजेन्सीहरूको सहयोगमा




