भन्सार छलीविरुद्ध सशस्त्र प्रहरीको कारबाही, मटिअर्वाबाट १३ लाखको मोबाइल पार्ट्स बरामद

बारा, ११ असोज । भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्स बाराको मटिअर्वा सीमा नाकाबाट सशस्त्र प्रहरीले बरामद गरेको छ।
कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले करिब १३ लाख ३८ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर मटिअर्वाबाट खटिएको टोलीले शनिबार भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला पारेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार मोबाइलका विभिन्न पार्ट्स भन्सार प्रक्रिया पूरा नगरी नेपालतर्फ ल्याइएको अवस्थामा बरामद भएको हो।
सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका लागि खटिएको टोलीले शंकास्पद रूपमा मोटरसाइकलमा सामान ल्याउँदै गरेको अवस्थामा रोकेर जाँच गर्दा ठूलो परिमाणमा मोबाइल पार्ट्स भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणी अधिकारीका अनुसार बरामद मोबाइल पार्ट्स र प्रयोग गरिएको मोटरसाइकल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
मटिअर्वा नाका हुँदै हुने अवैध आयात नियन्त्रणलाई सशस्त्र प्रहरीले प्राथमिकतामा राख्दै आएको छ। पछिल्लो बरामदगीले सीमावर्ती क्षेत्रमा भन्सार छली गरी मोबाइल तथा विद्युतीय सामग्री नेपाल भित्र्याउने प्रयास अझै सक्रिय रहेको देखाएको छ।
भन्सार कार्यालयमा बुझाइएको सामानको वास्तविक मूल्य, संलग्न व्यक्तिको विवरण तथा कानुनी कारबाहीबारे थप प्रक्रिया सम्बन्धित निकायबाट अघि बढाइने जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close