इमिस कोड नलिएका विद्यालयमा विद्यार्थी भर्ना नगर्न कलैया उपमहानगरपालिकाको आग्रह
कलैया, साउन २० – कलैया उपमहानगरपालिकाले इमिस कोड प्राप्त नगरेका निजी विद्यालयहरूमा आफ्ना बालबालिकाको भर्ना नगर्न सम्पूर्ण अभिभावकलाई आग्रह गरेको छ। शिक्षा, युवा तथा खेलकुद शाखाले २०८३ साउन २० गते जारी गरेको सूचनामार्फत यस्तो जानकारी दिएको हो। 
उपमहानगरपालिकाका अनुसार कलैया क्षेत्रमा सञ्चालनमा रहेका केही संस्थागत विद्यालयले हालसम्म उपमहानगरबाट अनिवार्य रूपमा लिनुपर्ने डीएमएस कोड प्राप्त गरेका छैनन्। प्रचलित कानुनअनुसार त्यस्ता विद्यालयमा अध्ययन गरेका विद्यार्थीले कक्षा उत्तीर्ण गरेपछि अन्य विद्यालयमा भर्ना हुनका लागि डीएमएस कोड आवश्यक पर्ने भएकाले अभिभावकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
सूचनामा डीएमएस कोड नलिएका विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना नगर्न तथा नगराउन अनुरोध गरिएको छ। यसबाट विद्यार्थीको भविष्यमा शैक्षिक अभिलेख, स्थानान्तरण तथा भर्ना प्रक्रियामा समस्या आउन सक्ने उपमहानगरपालिका शिक्षा शाखा प्रमुख राजिव कुमार यादको भनाइ रहेको छ।
उपमहानगरपालिकाले डीएमएस कोड नलिएका नौ वटा विद्यालयको नामसमेत सार्वजनिक गरेको छ। ती विद्यालयमा सूर्य ज्ञान वाटिका इङ्ग्लिस बोर्डिङ स्कुल (कलैया–११), हिमाइन इङ्ग्लिस बोर्डिङ स्कुल (कलैया–३), कमला इङ्ग्लिस बोर्डिङ स्कुल (कलैया–१), काजी एकेडेमी (कलैया–६), भाग्यमणी इङ्ग्लिस बोर्डिङ स्कुल (कलैया–८), चाइल्ड मिसन इङ्ग्लिस बोर्डिङ स्कुल (कलैया–१८), युनिक किड्स इङ्ग्लिस बोर्डिङ स्कुल (कलैया–५, घुसुकपुर), किन्डर गार्डेन इङ्ग्लिस बोर्डिङ स्कुल (कलैया–२६, सिरसिया महेशपुर) तथा विन्यासिनी इङ्ग्लिस बोर्डिङ स्कुल (कलैया–१) रहेका छन्।
शिक्षा शाखा प्रमुख यादवद्वारा हस्ताक्षरित सूचनामा अभिभावकलाई विद्यालय भर्ना गर्नु अघि सम्बन्धित विद्यालयले डीएमएस कोड प्राप्त गरेको वा नगरेको विषयमा यकिन गर्नसमेत अनुरोध गरिएको छ। उपमहानगरपालिकाको यो कदमले संस्थागत विद्यालयको नियमनलाई प्रभावकारी बनाउने र विद्यार्थीको शैक्षिक अधिकार संरक्षण गर्ने अपेक्षा गरिएको छ।






