कलैयाका सामुदायिक शिक्षकलाई विद्यालयबाहिरको काममा रोक
पूर्वस्वीकृति बिना बाह्य संस्थामा पढाउन वा काम गर्न नपाइने, उल्लङ्घन गरे शिक्षा नियमावलीअनुसार कारबाही हुने चेतावनी
बारा, साउन १३ ।
कलैया उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई विद्यालयको नियमित पठनपाठन प्रभावित हुने गरी बाहिरी संस्थामा काम नगर्न निर्देशन दिएको छ। शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार जारी गरेको सूचनामार्फत शिक्षकहरूलाई शिक्षा नियमावलीको व्यवस्था कडाइका साथ पालना गर्न आग्रह गरेको हो।
शिक्षा शाखा प्रमुख राजीव कुमार यादवद्वारा हस्ताक्षरित पत्रमा पछिल्लो समय केही स्थायी तथा अस्थायी शिक्षकहरूले सामुदायिक विद्यालयमा अध्यापन गरिरहेकै अवस्थामा निजी विद्यालय, कलेज तथा अन्य संस्थामा समेत पढाउने वा काम गर्ने गरेको अनुगमनका क्रममा भेटिएको उल्लेख गरिएको छ। यसले विद्यालयको पठनपाठन, विद्यार्थीको सिकाइ उपलब्धि तथा शैक्षिक अनुशासनमा प्रत्यक्ष असर परेको भन्दै उपमहानगरपालिकाले चासो व्यक्त गरेको छ।
पत्रमा शिक्षा नियमावली, २०५९ को परिच्छेद २२ अन्तर्गत नियम ९३(३) को उपनियम १(ज) अनुसार शिक्षकले आफू कार्यरत विद्यालयबाहेक अन्यत्र काम गर्नुअघि सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ। त्यसैले अबदेखि पूर्वस्वीकृति नलिई विद्यालयबाहिर कुनै पनि प्रकारको पेशागत वा अध्यापनसम्बन्धी कार्य नगर्न शिक्षकहरूलाई निर्देशन दिइएको छ।
उपमहानगरपालिकाले यदि कुनै शिक्षकले बाहिरी संस्थामा काम गर्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिएर मात्र काम गर्नुपर्ने स्पष्ट पारेको छ। अन्यथा प्रचलित शिक्षा नियमावलीबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि सूचनामा उल्लेख गरिएको छ।
शिक्षा शाखाका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकको नियमित उपस्थितिको सुनिश्चितता तथा विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन यस्तो निर्देशन जारी गरिएको हो। विद्यालय समयमै शिक्षक अनुपस्थित हुने, पठनपाठन प्रभावित हुने तथा सरकारी सेवामा रहँदै अन्यत्र काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न यस कदमले सहयोग पुग्ने विश्वास उपमहानगरपालिकाले लिएको छ।
उक्त सूचना कलैया उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षकहरूलाई सम्बोधन गर्दै साउन १२ गते जारी गरिएको हो। शिक्षा शाखाका प्रमुख राजिव कुमार यादवले सबै शिक्षकलाई नियमको पूर्ण पालना गर्न तथा विद्यालयको जिम्मेवारीलाई प्राथमिकतामा राख्न अनुरोध गरेको छ।





