चिनियाँ नागरिक सङ्ग उमेर नपुगेकी बालिकालाइ विवाह गराउनेहरू पक्राउ

बारा । उमेर नपुगेकी बालिकालाई जबरजस्ती चीनिया युवा सङ्ग विवाह गराइएका घटनामा संलग्न दुई जना बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, बाराले जारी गरेको प्रेश विज्ञप्तिअनुसार मिति २०८२ मंसिर १० गते राति करिब २२:३० बजे करैयामाई गाउँपालिका–१ हरैया टोलमा नाबालिग बालिकाको विवाह गराइँदै गरेको भन्ने विशेष जानकारीपछि प्रहरी टोली घटनास्थलतिर खटिएको थियो। प्रहरी निरीक्षक प्रकाश खड्का तथा प्रहरी चौकी मधुवनबाट प्र.स.नि. शम्भु प्रसाद यादवको नेतृत्वमा पुगेको टोलीले घरभित्र सामाजिक रीति–रिवाज अनुसार विवाह भइरहेको अवस्थामा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा बालिकालाई उमेर नपुगेको अवस्थामा बेहुली बनाइएको पुष्टि भएपछि तत्काल उद्दार गरी विवाह गराउने तथा विवाह गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएको छ।
पक्राउ परेकाहरूमा करैयामाई गाउँपालिका–१ हरैया टोलका ४४ वर्षीय जाकिर हुसेन देवान — आफ्नै छोरीको नाबालिग उमेरमा विवाह गराएको अभियोग ।
चीन गान्सु प्रान्त बसोबास गर्ने २२ वर्षीय NIU YUBIN (राहदानी नं. EQ3877404) — नाबालिगसँग विवाह गर्न आएका बेहुला रहेकोे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाको विवाह पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकसँग गराउने तयारी भइरहेको अवस्थामा कारबाही गरिएको हो। दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान जारी रहेको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय, बाराले बालबालिकाको विवाह सम्बन्धी गैरकानुनी गतिविधि रोकथाममा शून्य सहनशीलता नीतिअनुसार कडा रूपमा कारबाही गर्ने जनाएको छ।





