गुठी संस्थान बिरगंजको लपारवाहीले रानीवास मन्दिरको जग्गा पुनः अतिक्रमण, सरोकारवाला निकाय मौन

सिम्रौनगढ, २७ कार्तिक ।
ऐतिहासिक र धार्मिक र पुरातत्वीक दृष्टिकोणले महत्वपूर्ण मानिने सिम्रौनगढस्थित रानीवास मन्दिर परिसरको गुठी जग्गा पुनः अतिक्रमणमा परेको छ। स्थानीयवासीले गुठी संस्थान बीरगंज शाखाको लापरबाही र उदासीनताका कारणआज बाट मन्दिर परिसरमा पुनः निर्माण कार्य सुरु भएको आरोप लगाएका छन्।
स्थानीयको भनाइ अनुसार, केही व्यक्तिहरू र समूहहरूले मन्दिरको आसपास रहेको गुठी जग्गामा पर्खाल र पक्की संरचना निर्माण गर्न थालेका छन्। तर गुठी संस्थान, नगरपालिका र प्रशासन भने यसबारे मौन रहेको स्थानीयको गुनासो छ।

राजा हरिसिंहदेवको शासनकालदेखि नै धार्मिक–संस्कृतिक सम्पदाको केन्द्रका रूपमा परिचित रानीवास मन्दिरसँग सम्बन्धित जग्गा गुठी संस्थानको नाममा दर्ता भए पनि संरक्षण, नापजाँच र सीमाङ्कनको कार्य वर्षौंदेखि नहुँदा अतिक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरू बताउँछन्।
रानिवास मन्दिरका महन्थ बिनोद गिरिका अनुसार, “गुठी संस्थानले मन्दिरको जग्गा संरक्षणमा कुनै ठोस कदम नचाल्दा निजी स्वार्थमा कब्जा गर्नेहरूको हिम्मत बढेको छ।”
स्थानीय बासिन्दाले तत्काल अनधिकृत निर्माण रोक्ने, अतिक्रमणको नक्सा सार्वजनिक गर्ने र दोषीमाथि कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यसैबीच, गुठी संस्थान बीरगंजका अधिकारीहरूले घटनाबारे मौखिक जानकारी पाएको जनाउँदै भनेका छन्, “हामी छानबिन टोली पठाएर यथार्थ बुझ्ने र आवश्यक कदम चाल्ने तयारीमा छौं।”
तर स्थानीयले यस्ता आश्वासनहरू विगतमा पनि बारम्बार सुनेका भए पनि, व्यवहारमा कुनै ठोस कार्यान्वयन नभएको बताएका छन्।
धार्मिक र ऐतिहासिक पहिचानको प्रतीक मानिने रानीवास मन्दिरको जग्गा संरक्षणका लागि गुठी संस्थान, नगरपालिका र प्रशासन सबै पक्षको सक्रिय पहल अत्यावश्यक रहेको सरोकारवालाहरूको धारणा छ ।






