अध्यक्ष राउतका सहोदर दाइ उपाध्यक्ष बनाइएपछि जनमतमा चर्कियो विवाद

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीभित्र विवाद एकपछि अर्को हुँदै झाङ्गिँदै गएको छ। पछिल्लो संसदीय निर्वाचनमा राष्ट्रिय पार्टी बनेसँगै मूलधारको राजनीतिमा होमिएको जनमतभित्र अहिले अनेकन् खालका विवादहरू छन्।

मधेसकेन्द्रित यो पार्टीलाई जनतासँग गरेको बाचा भुल्दै गएको आरोप त लाग्ने गरेकै छ, सँगैमा पार्टीलाई ‘पारिवारिक दाउ’मा पार्न खोजिएको आरोप पनि सुरु भएको छ। खासगरी पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउतका सहोदर दाइ डा. जयकान्त राउत उपाध्यक्ष मनोनीत गरिएसँगै यो आरोप सुरु भएको हो।

जनमतले गत असार १७ गते जयकान्तसहित दानबहादुर चौधरीलाई पनि पार्टीको उपाध्यक्ष मनोनीत गरेको छ, अहिले यसको आलोचना भइरहेको छ। पार्टीकै नेता दीपक कुमार साहले पार्टीको यो निर्णयलाई ‘पारिवारिक सदस्यहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा उकास्ने प्रवृत्ति’ भनेका छन्। यसले पार्टीलाई नै गम्भीर क्षति पुर्‍याउने साहको जिकिर छ।

‘२०७७ सालमा श्रीमती बबिता कुमारी राउतलाई उपाध्यक्ष पदमा मनोनयन गरी प्रदेश सभाको उपसभामुख बनाउने निर्णयबाट सुरु भएको पारिवारिक प्राथमिकताको क्रम अहिले पुनः अध्यक्षज्यूका दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष बनाइएसँगै झन् प्रष्ट भएको छ,’ साहले भनेका छन्, ‘विगतमा उहाँलाई सांसदको उम्मेदवार, योजना आयोगको सदस्य, राष्ट्रिय परिषद्को अध्यक्षर सङ्गठन विभागको प्रमुखजस्ता पदहरूमा क्रमशः जिम्मेवारी दिइएको थियो। यसले सङ्गठनभित्र गहिरो असन्तुलन, पात्रको उपेक्षा र कार्यकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको छ।‘

पार्टी स्थापनार्थ सङ्घर्ष र योगदान गर्नेहरूलाई भुलेर ‘परिवारवाद’लाई संस्थागत गर्ने काम भइरहेको आरोप साहको छ। ‘१४ वर्ष लामो सङ्घर्षपछि पनि कुनै गैरपारिवारिक पात्रले सङ्गठन विभाग प्रमुखजस्तो महत्त्वपूर्ण जिम्मेवारी नपाउनु, र अध्यक्षका दाजुलाई एकसाथ तीन-तीन पदमा नियुक्त गर्नुले नेतृत्व शैलीमाथि गम्भीर समीक्षा आवश्यक बनाएको छ,’ साहले भनेका छन्।

जयकान्तले उपाध्यक्षसँगसँगै सङ्गठन विभाग प्रमुख र सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी पनि पाएका छन्। पार्टी निर्माणमा डेढ दशकसम्म योगदान गर्नेहरूलाई बेवास्ता गरेर पारिवारिक सदस्यहरूलाई यसरी अवसर दिँदा पार्टीलाई गम्भीर क्षति हुने साहले बताएका छन्।

त्यसो त जनमतभित्र यस्ता अन्य धेरै विवादहरू छन्। अध्यक्ष राउतले मोटो रकम लिएर समानुपातिक सांसद बनाएको, सांसद गोमा लाभ सापकोटा निलम्बन गर्न खोजेको, कुनै ठूलो कारण बिना पार्टीका नेताहरूलाई कारबाही गरेको, मुद्दा लगाएको, पार्टीको निर्णयविपरीत घर-जग्गा जोडेकोलगायतका विवादहरू अहिले पनि छँदैछन्। अहिले फेरि पारिवारिक सदस्यहरूलाई पार्टीको मुख्य नेतृत्वमा पुर्‍याउन खोजिएको आरोप र विवाद सुरु भएको छ। सभार : नागरिक न्युज बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close