सामाजिक सञ्जालका विकृति नियन्त्रणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ — राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठकले सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण र नियमन गर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नै सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले सामाजिक सञ्जालको ‘छाडापन’ नियमन र नियन्त्रण सरकारले किन नगरेको भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका थिए ।

एमाले अध्यक्ष ओलीले भने सामाजिक सञ्जालमा पारिवारिक जीवन समाप्त पार्ने लगातका गतिविधि भइरहेको बताएका थिए । ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरूलाई किन नियन्त्रण नगरेको हो ? मान्छेका पारिवारिक जीवन समाप्त गर्नेसम्मका काम सामाजिक सञ्जालमा भइरहेका छन्,’ ओलीको भनाइ उदृत गर्दै ती नेताले भने ।

जवाफमा प्रधानमन्त्री दाहालले भने यी विषयमा राजनीतिक दलहरूको धारणा के हो भनेर नै छलफल बोलाएको बताएका थिए ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सहभागी बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वाक स्वतन्त्रतालाई आँच नआउने गरी सरकारले कदम चाल्नुपर्ने बताएका थिए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतादेखि सर्वसाधारणले सेलिब्रेटी बन्न खोज्दा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको धारणा राखेका थिए ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा भइरहेका गतिविधि नियमन र नियन्त्रण गर्नका लागि राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने बताएका थिए ।

सामाजिक सञ्जालका कतिपय असमाजिक क्रियाकलाप नियन्त्रणका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको पनि प्रधानमन्त्रीले बैठकमा जानकारी दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close