निजी विद्यालयले हरेक वर्ष किताब फेर्दा अभिभावक मारमा, रोकिए अरबौं बचत हुने अभिभावकको माग

रामबाबु मेहता, — बारा जिल्ला लगायत देशका विभिन्न जिल्लामा निजी विद्यालयहरूले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्ने परम्पराले अभिभावकहरू आर्थिक रूपमा मारमा पर्दै गएका छन्। विशेषगरी बाराको कलैयामा रहेका अधिकांश नाम चलेका विद्यालयहरूले पुराना किताब प्रयोग गर्न नदिने र नयाँ सेट अनिवार्य किनाउनुपर्ने नियम लागू गर्दै आएका छन्।
अभिभावकहरूका अनुसार विद्यालयहरूले सिधै “हाम्रो विद्यालयमा पढाउनु छ भने यही नियम मान्नुपर्छ, पुरानो किताब चल्दैन” भन्दै दबाब दिने गरेका छन्। यसले गर्दा एउटै कक्षाका लागि वर्षेनी नयाँ किताब, कापी र अन्य सामग्री खरिद गर्नुपर्दा अभिभावकको खर्च अत्यधिक बढेको गुनासो छ।
स्थानीय अभिभावक सन्तोष पटेलले विद्यालयहरूको यस्तो अभ्यास तुरुन्त रोक्नुपर्ने बताउँदै भने, “स्कुलले हरेक वर्ष किताब मात्र बदल्ने काम रोकियो भने अरबौं रुपैयाँ बचत हुन सक्छ। एउटै पाठ्यक्रम हुँदा पनि नयाँ किताब किनाउन बाध्य पार्नु उचित होइन, हुने काम गरौं।”
अभिभावकहरूले पाठ्यक्रममा ठूलो परिवर्तन नभएसम्म पुराना किताब प्रयोग गर्न पाउने व्यवस्था गर्न, विद्यालयले निश्चित प्रकाशक वा पसलबाट मात्र किताब किनाउन दबाब नदिन र सरोकारवाला निकायले अनुगमन कडा बनाउन माग गरेका छन्।
शिक्षा क्षेत्रमा पारदर्शिता र अभिभावकमैत्री नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। यदि सम्बन्धित निकायले समयमै ध्यान नदिए अभिभावकहरू संगठित रूपमा आवाज उठाउने चेतावनी समेत दिएका छन्।





