प्रायोजित र भ्रामक प्रचारको खण्डण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका परिवारका सदस्यहरूलाई लक्षित गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गरिएको भ्रामक तथा तथ्यहीन प्रचारप्रति पार्टीले कडा आपत्ति जनाएको छ।

पार्टीले जारी गरेको विज्ञप्तिमा हालको संवेदनशील राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले चरित्रहत्या गर्ने उद्देश्यले प्रसारित यस्ता समाचारहरू दुर्भावनापूर्ण रहेको उल्लेख गर्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार, पत्रकार आचारसंहिता र सञ्चारसम्बन्धी कानुनी प्रावधानहरू अन्तर्गत अरूको मानहानी, गालीगलौज र चरित्रहत्या गर्न निषेध गरिएको छ। तर पछिल्ला केही सामग्रीहरूमा ती सबै मापदण्डहरूको अवमूल्यन गर्दै एकतर्फी, पूर्वाग्रही, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ।”

पार्टीले संयोजक प्रचण्डको निवासबाट ‘जेन-जी आन्दोलन’ पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने जस्ता दाबीहरू पूर्ण रूपमा निराधार रहेको बताउँदै ती आरोपहरूको प्रमाण पेश गर्न चुनौती दिएको छ।

साथै, यस्ता गलत र भ्रम फैलाउने सामग्रीहरू साइबर कानुनविपरीत भएकाले सम्बन्धित निकायमार्फत आवश्यक अनुसन्धान र कानुनी कारबाहीको माग गरिएको विज्ञप्तिमा उल्लेख छ।

  • पार्टीले भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण समाचार वा सामग्री प्रकाशित–प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रकाशक तथा प्रसारक पक्षले नै वहन गर्नुपर्ने चेतावनी दिएको छ। साथै, आम जनसमुदायलाई यस्ता भ्रामक प्रचारमा नपर्न आग्रह पनि गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close