अयोध्यास्थित राम मन्दिरमा गरियो प्राण प्रतिष्ठा

८ माघ,काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलला (भगवान रामको बाल स्वरुप)को मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ। धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवम् वैदिक विधि विधानमार्फत् मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो।

प्राण प्रतिष्ठाको कर्मकाण्डमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सरिक भएका छन्। प्राण प्रतिष्ठाका क्रममा मोदी मूर्ति राखिएको स्थान, गर्भगृहमा पुगेका थिए।

भारतीय राज्य उत्तर प्रदेशको अयोध्यामा मन्दिर निर्माण गरिएको हो। सन् १९९२ मा हिन्दूहरुको भिडले भत्काएको १६औं शताब्दीको मस्जिदलाई विस्थापित गरी राम मन्दिर बनाइएको हो।

अयोध्यामा रहेको उक्त बाबरी मस्जिद भत्काइएपछि भारतभर नै दङ्गा भड्किँदा झन्डै २ हजार जनाको ज्यान गएको थियो। मस्जिद भत्काइ पनि उक्त स्थानमा मन्दिर बनाउने वा मस्जिद भन्ने विवाद वर्षौंसम्म चलेको थियो। सन् २०१९ मा भारतको सर्वोच्च अदालतले हिन्दू धर्मावलम्बीको पक्षमा फैसला गरेपछि मन्दिर निर्माणको प्रक्रिया सुरु गरिएको थियो।

झन्डै २१ करोड ७० लाख अमेरिकी डलर (झण्डै २८ अर्ब ८० करोड नेपाली रुपैयाँ)को लागतमा बनेको मन्दिर ३ तलको छ। प्राण प्रतिष्ठा गरिँदासम्म पहिलो तलाको मात्रै काम सम्पन्न भएको छ। मन्दिरको सबै काम सम्पन्न गर्न भने अझै १ वर्ष लाग्ने बताइएको छ।

मन्दिर निर्माणको विषयलाई भारतको वर्तमान सत्तारुढ दल, भारतीय जनता पार्टीले आफ्नो चुनावी नारा बनाउँदै आएको थियो। त्यसकारण अहिले प्रधानमन्त्री मोदी र भाजपा समर्थकहरुले मन्दिर निर्माण गरेर दशकौं अघिदेखिको वाचा पूरा भएको अर्थमा पनि व्याख्या गरिरहेका छन्।

तर मन्दिरमा सोमबार भएको प्राण प्रतिष्ठाप्रति हिन्दू धर्मका अगुवा, धार्मिक गुरु र कतिपय नेताहरुले विरोध जनाएका छन्। मन्दिर निर्माणको विषयबाट भाजपा र मोदीले राजनीतिक लाभ लिन खोजेको उनीहरुको आरोप छ।

यस्तै, निर्माण सम्पन्न नहुँदै प्राण प्रतिष्ठा गरिनु पनि हिन्दू धार्मिक मान्यता विपरीत भएको भन्दै कतिपय धार्मिक अगुवाहरुले विरोध जनाइरहेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close