पत्रकारिता कि भक्तिगान ?

रामबाबू मेहता । पत्रकारको पहिलो कर्म पत्रकारिता नै हुनुपर्छ ।
मिशन पत्रकारिता भनेको आफूले मन पराएको पक्षको भजन गाउने र मन नपरेको पक्षलाई गाली गर्ने धन्दा होइन। पत्रकारिता कुनै व्यक्ति, दल, सत्ता वा स्वार्थ समूहको पक्षमा उभिएर अरूलाई प्रहार गर्ने माध्यम पनि होइन। पत्रकारिताको मूल धर्म सत्यको खोजी गर्नु, प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्नु र जनताको पक्षमा उभिनु हो।
आफूले विश्वास गरेका पात्र वा शक्तिका गल्तीमा समेत प्रश्न गर्न नसक्ने हो भने त्यो पत्रकारिता रहँदैन, भक्तिगानमा परिणत हुन्छ। पत्रकारको कलम कसैको प्रशंसा गर्न वा कसैलाई बदनाम गर्नका लागि होइन; तथ्य उजागर गर्न, सत्तालाई जवाफदेही बनाउन र समाजलाई सही सूचना दिनका लागि हो।
सत्ता होस् वा प्रतिपक्ष, आफ्नो समूह होस् वा विपक्षी समूह—गल्ती जहाँ हुन्छ, प्रश्न त्यहीँ उठ्नुपर्छ। पत्रकारिताको विश्वसनीयता नै यही निष्पक्ष प्रश्न गर्ने क्षमतामा टिकेको हुन्छ। आफूअनुकूल हुँदा मौन बस्ने र प्रतिकूल हुँदा मात्रै पत्रकारिताको धर्म सम्झिने प्रवृत्तिले पत्रकारिताको मूल्य कमजोर बनाउँछ।
आज सामाजिक सञ्जालको विस्तारसँगै पत्रकारिताको स्वरूप पनि बदलिएको छ। नागरिक पत्रकारिताले सूचना उत्पादन र प्रसारणको दायरा फराकिलो बनाएको छ। यस्तो समयमा परम्परागत पत्रकार र पत्रकारिताका अगुवाहरूले आफ्नो भूमिका अझ जिम्मेवार ढंगले पुनर्विचार गर्नुपर्ने आवश्यकता छ। सचेत नागरिकले हरेक सूचना, दाबी र समाचारलाई प्रश्न गर्न थालेका छन्। त्यसैले पत्रकारिताको नेतृत्व गर्नेहरूबाटै पत्रकारिताको मर्यादा कमजोर हुने गतिविधि हुनु झन् गम्भीर विषय हो।
सत्ता, दल, नेता वा स्वार्थ समूहसँग नजिक भएर व्यक्तिगत लाभ खोज्ने, भ्रष्टाचार, ‘इजी मनी’ वा अपारदर्शी सेटिङको वरिपरि घुमेर आफ्नो स्वार्थ पूरा गर्ने र त्यसैलाई पत्रकारिताको आवरण दिने प्रवृत्तिले अन्ततः पत्रकारितालाई नै कमजोर बनाउँछ। पत्रकारिता बेचेर राजनीति, पहुँच वा स्वार्थको व्यापार गर्न थालियो भने तत्काल केही आर्थिक लाभ वा व्यक्तिगत बन्दोबस्त हुन सक्छ। तर त्यसको मूल्य पत्रकारले आफ्नो विश्वसनीयता गुमाएर चुकाउनुपर्ने हुन्छ।
पत्रकारको सबैभन्दा ठूलो पूँजी उसको विश्वसनीयता हो। त्यो एकपटक गुमेपछि पद, पहुँच, परिचय वा आर्थिक हैसियतले मात्र त्यसलाई फर्काउन सकिँदैन। समाचार कति ठूलो बनाइयो भन्नेभन्दा पनि समाचार कति सत्य, सन्तुलित र सार्वजनिक हितमा आधारित थियो भन्ने कुरा महत्वपूर्ण हुन्छ।
त्यसैले पत्रकारको पहिलो कर्म पत्रकारिता नै हुनुपर्छ। पत्रकारिता कुनै राजनीतिक महत्वाकांक्षा पूरा गर्ने भर्‍याङ, बिचौलियाको कारोबार गर्ने आवरण वा व्यक्तिगत स्वार्थ साध्ने माध्यम बन्नु हुँदैन।
पत्रकारिताका अगुवाहरूको जिम्मेवारी अझ ठूलो हुन्छ। उनीहरूले आफ्ना व्यवहार, सम्बन्ध र निर्णयबाट नयाँ पुस्ताका पत्रकारलाई कस्तो सन्देश दिइरहेका छन् भन्ने कुराको पनि मनन गर्नुपर्छ। नागरिक सचेत भएको यो समयमा पत्रकारिताको नेतृत्व गर्ने व्यक्तिहरूबाटै पत्रकारिताको मर्यादा र जनविश्वासमा प्रश्न उठ्ने अवस्था आउनु कसैका लागि पनि सुखद होइन।
अन्ततः पत्रकारिता कसैको भक्तिगान होइन। यो प्रश्न गर्ने पेशा हो। शक्तिशालीलाई पनि प्रश्न गर्ने र आफूले विश्वास गरेको पक्षलाई पनि प्रश्न गर्न सक्ने साहस नै पत्रकारिताको वास्तविक शक्ति हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close