IEMIS को विद्यार्थी विवरण अद्यावधिक गर्न शिक्षा विभागको निर्देशन, गलत विवरण राखे कारबाही हुने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विभागले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विवरण IEMIS (Integrated Educational Management Information System) मा यथार्थ र अद्यावधिक राख्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ।
केन्द्रअन्तर्गतको विद्यालय शिक्षा विकास तथा समन्वय इकाइ, सानोठिमी भक्तपुरले जारी गरेको सूचनामा विद्यालयको कक्षाकोठामा नियमित उपस्थित विद्यार्थी र IEMIS मा कायम विद्यार्थी विवरणबीच फरक देखिएपछि यस्तो निर्देशन दिइएको उल्लेख छ।
विभागका अनुसार IEMIS मा प्रविष्ट विद्यार्थी विवरणकै आधारमा विद्यालयले दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक तथा प्रतिविद्यार्थी लागत अनुदानलगायत विभिन्न शीर्षकमा स्थानीय तहबाट अनुदान प्राप्त गर्ने व्यवस्था रहेको छ। तर केही विद्यालयमा वास्तविक रूपमा अध्ययनरत विद्यार्थीभन्दा फरक विवरण IEMIS मा राखिएको गुनासो तथा उजुरी प्राप्त भएपछि विवरण सत्यापनलाई अनिवार्य गरिएको हो।
सूचनामा विद्यालयका विद्यार्थी विवरण गलत राखिएमा कानुनी रूपमा दण्डनीय हुने भन्दै त्यसको जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापक, IEMIS फोकल पर्सन तथा लेखासम्बन्धी काम गर्ने कर्मचारीलाई हुने स्पष्ट गरिएको छ।
कक्षामा विद्यार्थी छैनन् भने IEMIS बाट हटाउनुपर्ने
विभागले विद्यालयको कक्षाकोठामा उपस्थित विद्यार्थी र IEMIS मा रहेको विद्यार्थी विवरण फरक भएमा त्यसलाई तत्काल सच्याउन भनेको छ।
निर्देशनअनुसार कक्षाकोठामा नियमित रूपमा अध्ययन गरिरहेका विद्यार्थीको विवरण मात्र कायम राखी विद्यालयमा अध्ययनरत नरहेका विद्यार्थीलाई IEMIS बाट ‘Not in School’ गरी हटाउनुपर्नेछ।
त्यस्तै, विद्यालयको कक्षाकोठामा नियमित रूपमा उपस्थित भएर अध्ययन गरिरहेका विद्यार्थीको अभिलेख IEMIS मा नरहेको भए त्यस्ता विद्यार्थीको विवरणसमेत IEMIS मा अद्यावधिक गर्न भनिएको छ।
असोज मसान्तभित्र विवरण अद्यावधिक गर्न निर्देशन
विद्यालयहरूले आफ्ना वास्तविक विद्यार्थीको विवरण २०८३ साल असोज मसान्तसम्म IEMIS मा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने सूचनामा उल्लेख छ।
स्थानीय तहलाई समेत विद्यार्थी विवरण सत्यापन नगरी अनुदान निकासा नगर्न निर्देशन दिइएको छ। विद्यालयको विद्यार्थी विवरण सत्यापन गरेपछि मात्र सम्बन्धित कार्यक्रमअन्तर्गतको अनुदान निकासा गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई भनिएको छ।
त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाइलाई स्थानीय तहसँगको समन्वयमा विद्यालयको विद्यार्थी विवरण सत्यापन कार्यको अनुगमन तथा सहजीकरण गर्न निर्देशन दिइएको छ।
विभागले IEMIS मा अद्यावधिक भएका विद्यार्थी संख्यालगायतका विवरण सधैं हेर्न सकिने गरी IEMIS Data Portal मा राखिने जनाएको छ।
यस निर्देशनसँगै अब विद्यालयको वास्तविक विद्यार्थी संख्या र सरकारी अभिलेखमा देखाइने विद्यार्थी संख्याबीचको अन्तरलाई गम्भीर रूपमा हेरिने भएको छ। विशेषगरी विद्यार्थी संख्या आधारमा वितरण हुने सरकारी अनुदानमा गलत विवरण प्रयोग हुन नदिन शिक्षा प्रशासनले विद्यालयस्तरमै विवरण सत्यापनलाई कडाइ गर्न खोजेको देखिन्छ।





