कलैया अस्पतालमा कलेजोको उपचार हुने ‘इभीबीएल’ सेवा सुरु

बारा,२४फाल्गुनःबाराको कलैयास्थित प्रादेशिक अस्पतालमा कलेजो बिग्रेर ज्यान जोखिममा परेका बिरामीको ज्यान जोगाउन सकिने जटिल प्रकारको उपचार सेवा ‘इभीबीएल’ सुरु भएको छ । कलेजो खराब भएर घाँटीको नशा फुलेर फुट्न सक्ने अवस्थालाई जोगाउन यो उपचार विधिबाट सेवा दिन सुरु गरिएको हो ।

बिरामीलाई भर्ना नगरी ‘ओपीडी’ बहिरंग सेवाबाटै सोझै ‘इन्डोस्कोपी भेरिसिएल ब्यान्ड लाइजेशन’ गरेर उपचार दिन थालिएको हो ।मंगलबारदेखि पहिलोपटक सुरु गरिएको यो उपचार विधिबाट दुई जना बिरामीले सेवापनि लिइसकेका छन् । कलेजो खराब भएका बिरामीको जुनबेला पनि घाँटीको नशा फुलेर अचानक फुटेर ज्यान जान सक्ने हुँदा त्यसबाट जोगिन सहुलियत शुल्कमा उपचार सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. अजयकुमार गुप्ताले बताए ।

यो सेवा सुरुपछि बिरामीहरु महँगो शुल्क तिरेर वीरगन्ज, काठमाडौं पुगेर सेवा लिने अवस्था अन्त्य भएको अस्पतालका मेसुसमेत रहेका एमडी इन्टर्नल मेडिसिनका डा. गुप्ताले बताए । ‘बिरामी महँगो शुल्क र बाहिर जाने झन्झटबाट मुक्त भएका छन्,’ मेसु डा. गुप्ताले भने, ‘बिरामीलाई एक घण्टा भित्रमा शल्यक्रियामार्फत उपचार गरी घर पठाइएको छ ।’

लामो समयदेखि आधारभुत स्वास्थ्य जाँचको भरमा सञ्चालित ७५ शैयाको कलैया अस्पतालमा अब आधुनिक उपकरणहरुबाट स्वास्थ्य उपचार सेवा दिन थालिएको र सेवा लिने बिरामीको चापसमेत बढेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईंले बताए ।

गत फागुन २ गतेदेखि कलैया अस्पतालमा पेटको सुक्ष्म जाँच गरिने ‘इन्डोस्कोपी’, मृगौला प्रशोधन गरिने हेमोडाइलाइसिस र नवजात शिशुको आइसियू (एसएनसीयू) सेवा सुरु गरिएको थियो ।अस्पतालमा यस अघिबाट पुर्णस्थितीको भेन्टिलेटरसहितको आइस्यू सञ्चालनमा आइसकेको छ । मेडिकल शाखाका अनुसार ८ शय्याको आइसियू सेवासँगै ५ शय्याको डाइलाइसिस, ४ शय्याको नवजात शिशुको आइसियू र इन्डोस्कोपी सेवा दिने गरिएको छ ।

२४औं घण्टा औषधि उपलब्ध हुने फार्मेसीसहितको सुविधा रहेको अस्पतालमा ओपीडी तर्फ दैनिक ५ सय भन्दा बढी बिरामी आउने गर्छन् । र भर्ना गर्नुपर्ने दैनिक कम्तीमा ८० बिरामी भर्ना हुने खालको आउने गरेका छन् । अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकमध्ये २ जना सर्जन, १ जना बालरोग, एक जना प्रसुति र एक जना फिजिसियन छन् । रेडिओलोजिस्ट, अर्थोपेडिक, एनेस्थेसिया र एमडीजीपी एक÷एक जना छन् ।साभारः ईकान्तिपुरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close