नागरिक लाई स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड :उपराष्ट्र पति यादव

बारा : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
कलैयामा निर्माण भएको प्रादेशिक अस्पतालको ब्लड बैंक भवन उद्घाटन गर्दै उहाँले स्वास्थ्य सेवा मौलिक हक भएकाले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्न चिकित्सकहरूलाई निर्देशन दिनुभयो ।
ब्लड बैंकले यस क्षेत्रको बिरामीहरूलाई समयमा रगत उपलब्ध गराई जीवन बचाउनमा ठूलो सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभयो । “स्वास्थ्य, स्वस्थ्कर वातावरण स्वस्थ जीवनको आधार हो,” उहाँले भन्नुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गरी मुलकमा स्थायी शान्ति,सुशासन कायम गर्न र विकास एवम् समृद्धिका लागि सबै नेपालीहरू एक जुट हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मधेस –प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुधन महतो,संविधानसभा सदस्य प्रमोद गुप्ता,कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह,छाया परियोजनाका कार्यकारी निर्देशक कमल थापालगायतले आफनो विचार व्यक्त गर्नुभएको थियो ।
रु एक करोड १० लाखमा एक हजार बढी ब्लडको पोका अट्ने सो भवनको निर्माण छाया नेपाल नामक संस्थाको ८० प्रतिशत र अस्पतालको २० प्रतिशत लगानीमा निर्माण गरिएको हो ।
उपराष्ट्रपति यादवले एक पाउण्ड रक्तदानसमेत गर्नुभएको थियो । सो अवसरमा संविधानसभाका सदस्य प्रमोद गुप्ताले पनि रक्तदान गर्नुभयो ।