भारतीय नाकाबन्दी असफल पारेका कारण एमालेमाथि प्रहार : महासचिव पोखरेल

काठमाडौँ —एमाले महासचिव शंकर पोखरेलले २०७२ मा भारतीय नाकाबन्दीको विरोध गरेका कारण पार्टीमाथि प्रहार भइरहेको दाबी गरेका छन् । त्यतिबेला संविधान जारी गर्न नदिने प्रपञ्च गरिएको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन भारतका विदेश सचिव जय शंकरलाई नेपालको संविधानबारे चिन्ता नगर्न आग्रह गरेको पनि उनले खुलासा गरेका छन् । शनिबार युवा संघ नेपालले आयोजना गरेको एक कार्यक्रममा संविधान जारी भएपछि एमालेले भारतको नाकाबन्दीको विरोध गरेका कारण अहिले प्रहार भइरहेको भनेर बुझ्न युवा नेताहरूलाई महासचिव पोखरेलले आग्रह गरेका हुन् । यसअघि एमाले केन्द्रीय समिति बैठकले पनि एमाले र यसको नेतृत्वमाथि घेराबन्दी भएको निष्कर्ष निकालेको थियो ।

‘दोस्रो संविधानसभालाई असफल बनाउने प्रत्यन्त गरियो । नेपालका राजनीतिक दलहरूले संविधान बनाउने संकल्प गर्दा संविधान जारी नगर्न प्रपञ्च गरियो । कसैले आँट गरेको थिएन । केपी ओलीले भन्नुभयो संविधानसभाको काम संविधान बनाउने हो । संविधान नबनाएरु अरु काम गर्दैन,’ उनले भने, ‘मित्रहरूले चिन्ता गर्नु पर्दैन भनेर भारतीय विदेश सचिव जय शंकरलाई भन्नुभयो । संविधान निर्माणको नेतृत्वकर्ता हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो भनेर आजको प्रहारलाई जोडेर बुझ्नु पर्दछ । एमाले अध्यक्ष ओलीले समेत सरकारमाथि घेराबन्दी भइरहेको बताइरहेका बेला महासचिव पोखरेलले सांकेतिक रूपमा भारतबाट प्रहार भएको आरोप लगाएका छन् । हामीले संविधान जारी गरेपछि यो मुलुकमा नाकाबन्दी लगाइयो । सरकारमा त्यतिबेलाका दलहरूले नाकाबन्दीलाई नाकाबन्दी भन्न सकेनन् । सिमानाको अवरोध भन्न थाले । तर जब केपी ओली प्रधानमन्त्री बन्नुभयो, उहाँले नाकाबन्दी हो भन्नुभयो,’ उनले भने, ‘छिमेकीमाथिको नाकाबन्दी किमार्थ स्विकार गर्न सकिँदैन भनेर दह्रो अडान लिनुभयो । पहिलो पटक हामीले भारतीय नाकाबन्दीलाई जनतासामु लगेर असफल बनाउने काम गरेका थियौं । आज हामीमाथिको प्रहार नाकाबन्दी असफल बनाउनुको कारणले पनि हो भन्ने बुझ्नुपर्छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close