अफताब आलमसहितको मुद्दामा आइतबारदेखि अन्तिम सुनुवाइ हुने

आलमविरुद्ध सरकारले पेस गरेको थियो ३३२ प्रमाण

काठमाडौँ । लामो अन्यौलका बिच रौतहट जिल्ला अदालतले आगामी पुस २९ गतेका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दाको पेसी तोकेको छ । आगामी आइतबारका लागि रौतहट जिल्ला अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

मुद्दा दर्ता भएको करिब ४ वर्ष अदालती प्रक्रियामै रोकिएको उक्त मुद्दामा गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि मङ्सिर २४ गतभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन । सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आगामी पुस २९ गते आइतबारका दिन उक्त मुद्दाका लागि पेसी तारेख दिएको हो ।

०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित आलम निकटका ११ जना प्रतिवादी छन् ।२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा साविक रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो । जनतालाई आफ्नो प्रभावमा पारी धाँधली गरी निर्वाचन जित्नको लागि भण्डारण गरी राखेको ग्रेनाइट र हातहतियार बनाउन संकलन गरी राखेको विस्फोटक पदार्थ र स्थानीय मतदाता तर्साउन तयार पारेर राखिएको बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए ।

आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरु घाइते भएपछि योजनाको पोल खुल्ने डरमा घाइते अवस्थामा रहेका उनीहरुलाई आलमले आफ्नै ईट्टा भट्टाको चिम्नीमा जलाई मारेको आरोप लागेको छ । घटनाको तीन दिनपछि नै आलमसँगै निर्वाचन लडेका शैलेन्द्र साहले २०६४ चैत ३० गते नै प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, रौतहटमा कारबाहीका लागि रायसहितको प्रतिवेदन बुझाएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय रौतहटका तत्कालीन नेतृत्वले मुद्दा नचल्ने निर्णय गरेपछि उक्त घटना दबाइएको थियो ।

                   

त्यसपछि उक्त निर्णय महान्यायाधिवक्ता कार्यालयबाट पनि सदर भएकामा पछि सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गराइ मुद्दा चलाउने आदेश दिन माग गरिएको थियो ।

सर्वोच्च अदालतले २०६९ जेठ १६ गते महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै उक्त मुद्दामा गम्भीर रुपले अनुसन्धान गरी मुद्दा चलाउनु भन्दै सरकारको नाममा निर्देशनात्मक आदेशसमेत दिएको थियो ।

सर्वोच्चको उक्त फैसला पुनरावलोकन गरिपाउँ भनी महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको भए पनि सर्वोच्चले २०७० साउन ११ गते पुनरावलोकनको निस्सा दिन अस्वीकार गरेको थियो । त्यसपछि पनि उक्त मुद्दामा पुनः अनुसन्धान सुरु हुन सकेन । फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयले पटकपटक ताकेता गर्दा पनि फैसला कार्यान्वयन हुन नसकेकाले अदालतको अवहेलनामा कारबाही गरिपाउँ भन्दै अधिवक्ता पुष्पराज पौडेलले जिल्ला प्रहरी कार्यालय रौतहटलाई विपक्षी बनाइ रिट दर्ता गराए ।

त्यसपछि सर्वोच्च अदालतले फैसला कार्यान्वयन नहुनुको कारण पेस गर्न भन्दै प्रत्येक महिना अनुसन्धान प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । त्यसपछि बल्ल रौतहट प्रहरी सक्रियरुपमा लागेर उक्त घटनाको पुनः अनुसन्धान गर्दै रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

   

४ वर्ष पूरा भइसकेको उक्त मुद्दा छिटो फर्स्यौट गर्न सर्वोच्च अदालतले पनि ताकेता गरेपछि रौतहट जिल्ला अदालतमा कात्तिक २१ र २२ गते निरन्तर सुनुवाइ गरी १५ दिनभित्र बहस नोट पेस गर्न भनिएको थियो । कात्तिक २२ गतेको आदेशपछि दसैँ, तिहार तथा छठको बिदा परेकाले सरकारी वकिलले मङ्सिर २४ गतेमात्रै अदालतमा बहस नोट बुझाएको थियो । दुवै पक्षबाट बहस नोट पेस भए पनि मुद्दाको पेसी भने चढ्न सकेको थिएन ।

आलमको मुद्दामा अदालतले अनिश्चित ढिलाइ गरेको र न्यायाधीशहरुले पनि पन्छाएको आरोप लागेपछि रौतहट जिल्ला अदालतले आगामी साताका लागि साप्ताहिक पेसी सूचीमा राखेको हो । रौतहट जिल्ला अदालतका श्रेष्तेदार उद्धव प्रसाद ढोडारीले आगामी साताका लागि आलम लगायत विरुद्धको उक्त मुद्दा साप्ताहिक पेसी सूचीमा चढेको बताए । उनले भने, ‘यो मुद्दाको अर्को पेसी पुस २९ गतेका लागि तोकिएको छ । उक्त दिन अन्य कुरा यथावत रहेमा निरन्तर सुनुवाइमार्फत् फैसला आउँछ ।

जिउँदो घाइतेलाई समेत ईटाभट्टामा जलाइयो : प्रत्यक्षदर्शी राजेश प्रसाद सहनी

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मृत्यु भएकाहरुलाई जलाउन प्रयोग गरिएको राजा ईटा उद्योगमा काम गर्ने एक प्रत्यक्षदर्शीले बम विस्फोटमा परी घाइते भएका र मृत्यु भएकाहरुलाई ईटाभट्टामा जलाएको आफूले प्रत्यक्ष दिएको बयान दिएका थिए । राजा ईटा उद्योगमै काम गर्ने राजेश प्रसाद सहनीले घटनाबारे यस्तो बयान दिएका थिए ।

‘राति करिब १२ः३० बजे देखि १ः०० बजेको बिचको समयमा ट्रयाक्टरको आवाज र मानिसहरुको खैलाबैलाले मेरो निद्रा भङ्ग गरायो । म उठेँ, के रहेछ, रातको समयमा किन ट्रयाक्टरमा मानिस आएका हुन् भनी डर लाग्यो । बद्री सहनी समेत सँगै देखेँ । बद्रीलाई सँगै देखेपछि मलाई नजिक गएर बुझ्न मन लाग्यो, नजिक गएँ । ट्रयाक्टर नजिक पुग्दा मोहमद अफताब आलम, निजका भाइ मोहमद महताब आलम लगायत करिब आधा दर्जन मानिसहरु थिए, उनीहरु नेता भएकाले मैले चिनेँ । अरुलाई चिन्न सकिनँ, कोको थिए । बद्री सहनी समेत सोही ट्रयाक्टरमा सँगै आएका रहेछन् । ट्रयाक्टरमा जुटको बोरामा मानिस हालेर ल्याएको रहेछन् । त्यो देखेर म धेरै डराएँ, मलाई निजहरुले ठुलो स्वरमा त्यहाँबाट टाढा जान आदेश दिए, म केही पर गएँ । बोरामा ल्याएका मानिसहरु पालैपालो निकाल्दै ईट्टा पोल्ने भुङ्ग्रोमा हाल्न लागे । निजहरुले कति मानिसहरु ल्याए, यकिनका साथ सङ्ख्या भन्न सक्दिनँ । मलाई केही पर पठाएको कारण गन्न सकिनँ, जसमध्ये कोही जिउँदै पनि हुनुपर्छ, किनकि मैले बोरामा चलमलाएको देखेको थिएँ । बद्री सहनीसमेत जलाउने काममा प्रत्यक्ष सहभागी बनेका थिए । उनीहरुले करिब ३ घण्टा लगाएर जलाइसके पश्चात सबै जना गाउँतिर फर्केका थिए ।’

राजेश प्रसाद सहनी मात्रै होइन, घटनामा घाइते भएका गौरी शंकर राम चमारले पनि बम विस्फोटबाटै आफू घाइते भएको बयान दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दिएका गौरी शंकर रामले शेख इद्रिसको गोठमा १५–१६ जना मानिसहरु बसिरहेको आफूले देखेको र त्यहीँ पुग्दा विस्फोट भइ आफूसमेत घाइते भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

नेपाल प्रहरीले भारतको सितामढी पुगेर गौरी शंकर राम चमारलाई नेपाल ल्याइ पीडितको संरक्षणसमेत गरी अदालतमा समेत बुझाएको थियो ।

गौरी शंकर राम चमारको किटानी यस्तो छ:

मिति २०६४।१२।२७ गते बेलुकी अन्दाजी १८ः३० बजेको समयमा घटनास्थल राजपुर फरहदवा शेख ईद्रिसको गाई बस्तु बाँध्ने गोठघर अगाडि आइपुग्दा धेरै मानिसहरु थिए र सो गोठघरभित्र १५–१६ जना मानिसहरु बसेका कुरा गोठघरको ढोका खुला भएको कारण देखेको हुँ । अचानक बम विस्फोट भएको ठुलो धमाका आएको र सो बमको टुक्रा, छर्राहरुले मेरो दुवै कान, घाँटी, छाती समेतमा गम्भीर घाउचोट लागी रगतसमेत बगेको, विस्फोटनमा परी २–३ जना मानिसको मृत्यु भएको र धेरै जना मानिस घाइते भइ जोडले रुँदै कराउँदै गरेको देखेको हुँ । सो बम विस्फोटबाट मेरो दुवै कान चुँडिएको, घाँटी र छाती समेतमा बमको छर्रा लागी म घाइते भएकोमा म आपूm बच्नको लागि सो ठाउँबाट करिब ७०० मिटरसम्मको दूरीमा दक्षिण आइसकेपछि म पूर्णरुपले बेहोस भइ भूइँ जमिनमा लडेको । त्यस पश्चात १५–२० दिनपछि होसमा आउँदा भारत बिहार राज्यको जिल्ला सितामढी, सितामढीस्थित सदर अस्पतालमा बेड भर्ना भएको रहेछु । पिसाब नलीमा, नाकमा, मलद्वार समेतमा पाइप लगाएको र मेरो अनुहारको भागमा, घाँटीमा, छाती समेतमा पट्टी बाँधेको अवस्थामा म रहेको थिएँ । मसँगै मेरी आमा मरनी देवी रहेकी थिइन् । मलाई यहाँ को–कसले उपचारको लागि ल्याएको भनी सोध्दा आमाले बच्चा रामको ससुरा रौतहट जिल्लाको जिगडिया बस्ने बद्री रामले ल्याएको हो भनी मलाई बताउनु भएको थियो । सोही अस्पतालमा मसँगै ईट्टा उद्योगमा काम गर्ने मेरै गाउँको अन्दाजी ३०–३२ वर्षको नरेश राम, अन्दाजी वर्ष ४०–४२ को बिकाउ राम समेत सोही अस्पतालमा उपचार गराउँदै गरेको अवस्थामा देखेको हुँ । पछि निजहरुसँग बुभ्mदा निजहरुले हामी पनि सोही बम विस्फोटमा परी सख्त घाइते भएका हौँ भनी बताएका थिए ।’

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close